पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी र कर्मचारीकोे दुर्घटना बिमा गरेको छ । महासंघले प्रत्येक पत्रकारको एक लाख बिमांकको दुर्घटना बिमा गरिदिएको हो । उसले पत्रकार र कर्मचारीहरुको दश हजार बराबरको उपचार खर्च समेत व्यहोर्ने भएको महासंघका जिल्ला कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले बताए ।
सोमबार महासंघले पत्रकारको बिमाका लागि सेवाप्रदायक कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता गरेको छ । उसले भदौ २९ गतेदेखि लागू हुनेगरी जिल्लाका १ सय १ जना पत्रकारहरूको सामूहिक दुर्घटना बिमा गरिदिएको हो । सेवाप्रदायक कम्पनी सगरमाथा इन्स्योरेन्स पाल्पा शाखाका प्रवन्धक करुणा काफ्ललेले महासंघका जिल्ला अध्यक्ष रेखीराम रानालाई बिमा पोलिसी हस्तान्तरण गरेका छन् । बिमा पोलिसी ग्रहण गर्दै महासंघका अध्यक्ष रानाले सामूहिक दुर्घटना बिमाले पत्रकारको भौतिक सुरक्षा तथा सम्भावित जोखिमका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । पत्रकारको पेशागत र भौतिक सुरक्षामा महासंघ गम्भीर रहेको बताउँदै उनले पत्रकारका लागि दुर्घटना बिमा अपरिहार्य रहेको बताए । पोलिसी हस्तान्तरण गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीका शाखा प्रवन्धक काफ्ललेले जोखिम बहन गर्नका लागि बिमाले महत्वपूर्ण टेवा पुग्ने बताए ।
उनले भने ‘कुनै पनि दुर्घटनामा परी घाइते भई उपचार गर्नु परेमा पत्रकारले १० हजार बराबरको बिमा दावी रकम पाउने छन्, दुर्घटनामा परी अंङ्ग, भङ्ग भए सर्त अनुसार रकम पाउने र यदि दुर्घटनामा परी ज्यान गुमाएमा एक लाख बिमा दावी रकम कम्पनीले तत्कालै उपलब्ध गराउने छ ।’ महासंघमा एक सय सदस्य आवद्ध रहेका छन् ।