Shittalpati
गुल्मीमा स्थानीय तहका आफ्नै प्रहरी

रासस तम्घास, गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले गत चैत १ गतेबाट दुई महिला र तीन पुरुष गरी पाँच नगरप्रहरी नियुक्त गरेको थियो । तीमध्ये एक जनालाई प्रहरी सहायक निरीक्षकको दर्जा दिइएको छ । प्रहरी सहायक निरीक्षकका लागि १५ हजार र जवानका लागि १२ हजार पारिश्रमिक निर्धारण गरिएको छ । साथै मासिक तीन हजार रासनभत्ता पनि उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए । ‘स्थानीय तहमा कामको गुणस्तर र सेवा प्रवाहलाई निकै चासोका साथ हेर्ने गरिन्छ ।’

उनले भने, ‘सहज रूपमा सेवा प्रदान गर्न नगरप्रहरी नियुक्त गरेका छौँ ।’ प्रहरी भएपछि गाउँपालिकाको प्रशासनिक कामदेखि अन्य काममा सहयोग पुगेको र केहीले रोजगारी समेत पाएको प्रतिक्रिया पोखरेलले दिए । रेसुङ्गा नगरपालिकाले सात नगरप्रहरी नियुक्त गरेको छ । ती मध्ये एक हवल्दार र बाँकी छ जवान छन् । नियुक्त गरिएका मध्ये दुई महिला र पाँच पुरुष छन् । सदरमुकाममा ट्राफिक व्यवस्थापन, वातावरण सरसफाइ, कार्यालय सुरक्षा, बजार अनुगमन लगायत नगरप्रहरीका मुख्य काम हुन् । यी बाहेक हाटबजार, कार्यालयमा सहयोगीको भूमिका खेल्ने तथा आवश्यक परेको खण्डमा जुनसुकै बेला नगरप्रहरी परिचालित हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

नगरपालिकाले प्रहरी हवल्दारका लागि मासिक १५ हजार र जवानका लागि मासिक १३ हजार पारिश्रमिक निर्धारण गरेको छ । त्यसबाहेक वार्षिक दुई जोर कपडा र रासनभत्ता स्वरुप मासिक तीन हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । अहिले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका पनि नगरप्रहरी भर्नाको प्रक्रियामा गएका छन् । इस्मा गाउँपालिकाले यही फागुन २९ गतेसम्म दरखास्त दिन सकिने गरी सूचना प्रकाशित गरेको छ । पाँच जनाका लागि खुलाइएको विज्ञापनमा एक हवल्दार र चार जवान रहने छन् । हवल्दार महिला वा पुरुष जुनसुकै हुनसक्ने र जवानमध्ये महिला/पुरुष दुई–दुई जना नियुक्त गरिने गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन् । कार्यालयमा काम बढी हुने जनशक्ति कम हुने भएकाले नगरप्रहरी नियुक्त गर्न लागिएको खत्रीले बताइन् ।
आफ्नै गाउँमा रोजगारी :
धुर्कोट गाउँपालिका–४ जैसिथोकका विष्णु पोखरेलले रोजगारीको सिलसिलामा दुई वर्ष विदेशमा सुरक्षाको काम गरे । गत वर्ष गाउँपालिकाले नगरप्रहरीको सूचना निकाल्दा उनले पनि आवेदन दिए । सबैभन्दा उत्कृष्ट हुँदै नगर प्रहरी सहायक निरीक्षकमा उनले काम गर्ने अवसर पाए । बजारअनुगमन, म्याद सकिएका सामग्रीको उचित व्यवस्थापन, मदिरा नियन्त्रण लगायतका काम आफूहरुले गर्ने उनले बताए । ‘काम पनि विदेशमा झैँ गाह्रो हुँदैन, आफ्नै ठाउँमा काम गर्दा आनन्द लाग्छ’, उनले भने, ‘समयमै स्थानीय तह गठन भएपछि अवसर प्राप्त भयो ।’

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update