Shittalpati
नगर सफा राख्न प्लाष्टिक झोलाको विकल्पमा अन्य झोला

कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरलाई सफा राख्नका लागि प्लाष्टिक झोलाको विकल्पमा अन्य झोलाको प्रयोग गर्न थालिएको छ । तानसेन नगरलाई प्लाष्टिक मुक्त नगरको रुपमा घोषणा गरिए पनि प्रभावकारी रुपमा कार्यान्वयनमा नआएकाले नगरपालिकाले कडाईका साथ अनुगमन गर्नुपर्ने आवाज बढ्दै गएपछि विभिन्न संघसंस्थाहरुले सफा नगर बनाउन अभियानहरु सञ्चालन गर्दै आएका छन् । प्लाष्टिकजन्य वस्तुबाट फोहोर बढेकाले सबै पक्षबाट प्लाष्टिक नियन्त्रण गर्नुपर्ने आवाज उठिरहेको समयमा तानसेनका विभिन्न स्थानमा प्लाष्टिकको झोलाको विकल्पमा अन्य झोलाहरु प्रयोग बढ्दै गएको हो ।

डिभिवन वन कार्यालय पाल्पाले तानसेन नगरलाई सफा तथा सुन्दर बनाउन प्लाष्टिक झोला मुक्त अभियान थालेको छ । कार्यालयले पाल्पा विकास केन्द्र तथा पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको समन्वयमा अभियान शुरु गरेको छ । वन कार्यालयले तानसेनका होटल तथा रेष्टुरेष्ट व्यवसायीहरुलाई दैनिक रुपमा किनमेलका लागि सुविधायुक्त वैकल्पिक झोला वितरण गरेको छ । अन्य समयमा सर्ट पाइन्टको गोजामा राखेर हिड्न मिल्ने, रुमालको साईजमा पटाएर राख्न मिल्ने भएकाले दैनिक किनमेलका लागि यो झोला उपयुक्त रहेको छ । छलफल तथा अन्तक्र्रिया कार्यक्रममा कार्यालय प्रमुख डा.मोहन पौडेलले होटल व्यवसायीलाई झोला वितरण गरेका छन् ।

हामी सबैको सहयोग र समन्वयबाट नगरलाई सफा सुन्दर बनाउन सकिन्छ, प्लाष्टिक मुक्त टोल घर बनाउन सकिन्छ, आ–आफ्नो क्षेत्रबाट यो अभियान सञ्चालन गर्नुपर्ने कार्यालय प्रमुख डा.पौडेलले बताए । कार्यक्रममा तानसेन नगरपालिका सरसफाई प्रमुख शंकर भण्डारीले नगरपालिकाले फोहोरबाट वायोग्याँस उत्पादनमा लागेको, नगरको सरसफाई आ–आफ्नो घर घरबाट शुरुवात भएको बताए । एक स्थानबाट अर्काे स्थानमा नियम विपरित फोहोर गर्नेलाई नगरपालिकाले १ लाख ५० हजारसम्म जरिवाना लिने सरसफाई प्रमुख भण्डारीले बताए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले प्लाष्टिक मुक्त नगरका जताततै प्लाष्टिक देखिएकाले नगरपालिकाबाट नियमित अनुगमन हुनुपर्ने बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीले सार्वजनिक क्षेत्र, शित्तलपाटी, श्रीनगर, रानीमहल, दरवार क्षेत्र लगायतका स्थानमा नगरपालिकाबाट नियमित सरसफाई हुनुपर्नेमा जोड दिए । होटल व्यवसायी किरण चित्रकारले फोहोरले भरिने बसपार्क क्षेत्र ६ महिना पूर्ण सरसफायुक्त भएको बताए । पाल्पा होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका अध्यक्षमोहन प्रसाद श्रेष्ठको सभापतित्व, पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update