Shittalpati
पाल्पाका युवाहरुको आकर्षण चित्रकलामा, चित्र कोरेरै मासिक ५० हजार आम्दानी

कृष्ण दर्नाल (रासस)
पाल्पा, एउटा हातको चिम्टाले घोच्दै र अर्को हातको ढुङ्गो फुकिरहेका किशोरले कोइला बालिरहेका छन् । उनकै अगाडि करिब ५५ वर्षका पुरुष सुनको गहना बनाउन व्यस्त छन् । काम गरिरहेको कोठाको कतै परम्परागत शैलीका सुनचाँदीका गहना त कतै जिल्लाका रमणीयस्थलका चित्र प्रशस्तै छन् । कोरिएका निकै आकर्षक ती चित्रले जो कोहीको पनि मन लोभ्याउँछ । ती तानसेन–१, गैरागाउँका राजकुमार खड्का अहिले सुनचाँदीको काम छाडेर चित्र कोर्न व्यस्त छन् । सुनचाँदी प्रशस्त आम्दानी हुने व्यवसाय भएकाले यहाँका व्यावसायीलाई अन्य पेशामा रुचि हुँदैन तर उनी भने चित्रकलामै बढी सक्रिय छन् ।

खड्काले विसं २०७२ देखि उक्त व्यवसाय गरे पनि चित्रकलामा पनि उत्तिकै चासो भएकाले फुर्सदमा चित्र कोर्थे । रङ्गको प्रयोग गरिएका चित्रकलाले उत्साही त बनायो फेरी सामाजिक सञ्जालमा राखेपछि आफूलाई काम गर्न थप हौसला मिलेकोे उनको भनाइ छ । अहिले पाल्पाको पर्यटन क्षेत्रको विकासका निम्ति रानीमहल, अमरनारायण र तानसे

नको पुरानो तथा नयाँ शहरको चित्र कोरिसकेका खड्काले यसबाट जिल्लाका पर्यटन क्षेत्रको थप प्रचार हुने अपेक्षा गरेका छन् ।
उनले भने,‘जातीय व्यवस्था अन्त्यका लागि सचेत गराउने चित्र बनाउने रुचि छ । शान्तिका प्रतिक गौतम बुद्ध, सामाजिक रुपान्तरणका अभियानकर्मी, साधु र वृद्ध महिला तथा पुरुषको चित्र पनि विशेष रुचिका साथ कोरिरहेको छु ।’ चित्रले प्राय विचार पनि बोकेको हुन्छ । प्रत्येक चित्रका अर्थ फरक–फरक हुन्छन् । पहिला प्राकृतिक चित्र धेरै कोरिएकामा अहिले त्यसमा केही नयाँपन थपिएको छ । चित्रलाई थप आकर्षक बनाउन कल्पनिक चित्रसमेत कोरिने चलन बढ्दो छ । यहाँ बसेर चित्र कोर्न त्यति सजिलो छैन । यसका लागि रङ्ग, बुरुस, कागज र कपडा चाहिन्छ तर यहाँ ती सामान नपाइने भएकाले बुटवलबाट ल्याउन महँगो पर्छ । काठमाडौँबाट ल्याउन अलि सस्तो पर्छ । युरोप र चीनबाट ल्याएका सामान गुणस्तरीय हुनाका साथै कोरिएको चित्रको मूल्य पनि उच्च हुने खड्काको भनाइ छ ।

तानसेन–३ वसन्तपुरका राजु रुचाल पनि चित्रकलामा माहिर छन् । छिटृै चित्र कोरिदिन सक्ने उनी पनि कतार र मलेसिया बसाइ पछि स्वदेश फर्किएका हुन् । मामाको ब्यानर बनाउने कामलाई निरन्तरता दिँदा दिँदै चित्रकलालाई नै आफ्नो व्यावसाय बनाएको रुचाल बताउँछन् । पाँच वर्षदेखि व्यावसायिक रुपमा चित्र कोर्दै आएका उनी अहिले मासिक ५० हजारसम्म आम्दानी गर्दै आएको बताउँछन् । ‘चित्रको मूल्य यति नै हो भन्ने छैन, एक हजारदेखि ४० हजारसम्म पर्छ । विशेष गरी आकिलिन र वाटर कलरको प्रयोग गरी चित्र कोर्ने गरेको छु । सानो चित्रलाई कम मूल्य र ठूलोलाई धेरै भन्ने छैन । मेहनतका आधारमा नै पैसाको निर्धारण हुँदै आएको छ’, रुचाल भन्छन् ।

उनका अनुसार हिमाल र पहाड झल्किने चित्र, तानसेनका ऐतिहासिक सम्पदा र मानिसको चित्र मागका आधारमा कोर्ने गरिन्छ । ‘जे देखियो त्यही पनि बनाउन सकिन्छ तर त्यसमा विशेष अर्थ झल्किनु पर्छ’, रुचाल भन्छन्, ‘विदेशमा कला समीक्षकबाट कलाको समीक्षा हुँदै आएको छ तर नेपालमा अझै समीक्षा गर्ने चलनको विकास हुन सकेको छैन ।’नेपालमा व्यावसायिकरुपमा कलाको विकासका लागि सरकारले चासो दिएको छैन । विदेशमा चित्रकलासम्बन्धी अध्ययन–अध्यापन हुँदै आए पनि नेपालमा काठमाडौं बाहेकका स्थानमा कलासम्बन्धी अध्यायन अध्यापन हुन सकेको छैन । जिल्ला तहमा भने तालिमसमेत सञ्चालन हुन नसकेकोमा यहाँका चित्रकारको गुनासो छ । स्थानीय सरकारले अन्य क्षेत्रको विकासका लागि बजेटको व्यवस्था गरेकामा पर्यटकीय क्षेत्रको विकासका लागि चित्रकलालाई पनि महत्वका साथ योजनामा राखेर कार्यान्वयन गराए आफूहरूको सम्मान हुने उनीहरूको जिकिर छ ।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update