Shittalpati
माथागढीले विद्यार्थीको सिकाइ सहजीकरण गर्न पुस्तिका बनाउँदै

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्न सिकाइ तथा मुल्यांकन पुस्तिकाको तयारी थालेको छ । कोभिडका कारण भौतिक उपस्थितीमा विद्यालय खुल्ने अनिश्चित भए पछि गाउँपालिकाले विद्यार्थीहरुको सहजीकरणका लागि पुस्तिका बनाउने तयारी थालेको हो ।

गाउँपालिकाको बैंठकले बालबालिकाको नियमित सिकाइ प्रक्रियालाई सहयोग पुर्‍याउने उद्देश्यले वैकल्पिक विधिहरुको खोजी गरी पठन–पाठनलाई अगाडि बढाउने निर्णय गरेको छ । बन्दाबन्दीको समयमा विद्यार्थीहरु विद्यालयमा गएर नियमित पठन–पाठन गर्न सक्ने परिस्थिती नभएपछि गाउँपालिकाले सिकाइ तथा मुल्यांकन पुस्तिकाको तयारी थालेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

आगामी दिनमा कोभिड १९ को प्रभावका कारण विद्यालयमा गरिने शैक्षिक क्रियाकलाप प्रभावित हुन सक्ने र विद्यार्थीको शैक्षिक गतिविधिमा अवरोध आउनसक्ने कुरालाई दृष्टिगत गरी वैकल्पिक विधिहरुको खोजी गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । सिकाइलाई आधुनिक र व्यवहारिक बनाउँदै कोरोनाबाट प्रभावित विद्यार्थीहरुको पठन–पाठनलाई थप सिर्जनशील, क्रियाशील बनाउन विषय विशेषज्ञ, शिक्षक,अभिभावकहरुको सक्रियतामा विभिन्न विकल्पहरुको खोजी गरिएको उनको भनाई छ ।

अध्यक्ष थापाले भने ‘विद्यालय कहिलेबाट खोल्ने निश्चित छैन,पढाइ अवरुद्ध हुँदा भएको शैक्षिक क्षति न्यूनीकरण गर्न सिकाइ तथा मुल्यांकन पुस्तिकाकोे माध्यमबाट बालबालिकाको सिकाइलाई सहजीकरण गर्न लागिएको हो ।’ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सिकाइलाई मध्यनजर गरी यो पुस्तिका ल्याउन लागिएको शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराईले बताए ।

शिक्षा सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले आगामी दिनमा कोभिड १९को कारणले गर्दा शैक्षिक क्षेत्रमा असर पर्न सक्ने हुँदा पालिका फरक तरिकाले अगाडि बढेको बताए । अर्धवार्षिक परीक्षासम्मको पाठ्यवस्तु समेटेर विद्यालय बन्दहुँदा सिकाइ सहजीकरण र खुलेको अवस्थामा दोस्रो त्रैमासिक परीक्षा सरह मूल्यांकन हुनेगरी उक्त पुस्तिका ल्याउन लागिएको उनको भनाई छ । किसान माविका प्रअ तुला सारु,रत्न माविका प्रअ नीर बहादुर सारु, कर्णधार माविका राजन अधिकारी, सातपोखरी माविका प्रअ दुर्गा प्रसाद काफ्लेले, दिब्यज्योती माविका दानुराज श्रेष्ठको उपस्थितमा तयारी बैठक गरिएको थियो । गाउँपालिकाले निर्माण गर्न लागेको पुस्तिका मार्फत ४५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ६ हजार बढी विद्यार्थीहरु लाभान्वित हुने छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update