.jpg)
रुपन्देही । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मणिग्रामस्थित राममणी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । विभिन्न २१ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियुले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो । यसअघि माग पूरा गर्न क्याम्पस प्रशासनलाई एकहप्ते अल्टिमेटम दिए पनि माग पूरा गर्न क्याम्पस प्रशासनले चासो नदेखाएपछि तालाबन्दी गर्नुपरेको संगठनका अध्यक्ष सागर न्यौपानेले बताए ।
उनले वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्य अगाडि बढाउन, ई–लाइब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारी बनाउन माग गरिएकोमा प्रशासनले बेवास्ता गरेको बताए । क्याम्पसको सभा–सम्मेलनमा विद्यार्थी प्रतिनिधि सहभागी गराउन, क्याम्पसको आर्थिक हिसाब पारदर्शी गर्न, हालै विज्ञान संकायका संयोजकसहित टोलीले क्याम्पस छाडेको भन्दै यसको छानविन गरी दोषीउपर कारवाही गर्न, अध्ययनरत विद्यार्थीका निम्ति नगरपालिका भित्र यातायात सुविधातत्काल व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ । –रासस