पाल्पा, तानसेन गुठी काठमाडौंले पाल्पामा सञ्चालित जात्रा पर्व र धवल पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले जात्रा पर्व र पुस्तकालयलाई आर्थिक सहयोग गरेको हो ।
तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धनका लागि यहाँ सञ्चालनमा आएका जात्रा पर्वहरुलाई आर्थिक सहयोग गरिएको गुठी तानसेन शाखाका अध्यक्ष सुशील प्रधानले बताए । तानसेन गुठी काठमाडौंबाट प्राप्त भएको दुई ९४ हजार ६ सय ३३ आर्थिक रकम रणउजीरेश्वरी भगवती मन्दिर, श्रीनगर सिद्धिविनायक मन्दिर, बुद्ध रथयात्रा गुठी,भिमसेन मन्दिर(भगवती टोल),भिमसेन मन्दिर (भिमसेन टोल), आनन्द विहार, बटुक भैरव मन्दिर, लक्ष्मी नारायण मन्दिर, पाल्पा भैरव मन्दिर, अमर नारायण मन्दिर, काल भैरव मन्दिर, देउराली सांस्कृतिक प्रतिष्ठान, पाल्पाली नाट्यकला सांस्कृतिक समूह र धवल पुस्तकालयलाई दिइएको गुठीका अध्यक्ष प्रधानले जानकारी दिए ।
गुठीले तानसेनका क्यान्सर पिडित आशिष महर्जनलाई स्वास्थ्य उपचारमा समेत सहयोग गरेको छ । उक्त सहयोग रकम गुठी तानसेन शाखाका अध्यक्ष सुशील प्रधान, पूर्व अध्यक्षहरु सर्जुलाल शाक्य, दीलबहादुर शाक्य र सल्लाहकार केदारलाल श्रेष्ठले संयुक्त रुपमा सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिलाई एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । गुठीका अध्यक्ष प्रधानको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शकुन्तला बज्राचार्यको स्वागत, सचिव विनय बज्राचार्यको सञ्चालनमा हस्तान्तरण कार्यक्रम भएको हो ।
तानसेनवासीहरुको सहयोगमा वि.सं. २०५० मा स्थापना भएको गुठी धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको छ । गुठीले तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विस्तारमा सहयोगी भूमिका खेल्दै आएको देखिन्छ । त्यत्ति मात्र होइन कोरोना महामारीका बेला भोक भोकै बस्न बाध्य मजदुरहरुको उद्दारमा होस् वा, आर्थिक अभावमा स्वास्थ्य उपचार नपाएर मृत्युसँग लडिरहेकाहरुको उद्दारका लागि समेत तानसेन गुठी सधैँ सहयोगीदाताका रुपमा क्रियाशील रहेको छ ।