Shittalpati
रामपुरका महिला र जनप्रतिनिधि बीच अन्तक्र्रिया

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुरका महिला र जनप्रतिनिधि बीच अन्तक्र्रिया कार्यक्रम भएको छ । १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा रामपुर नगरभित्र रहेका १० वटै वडाका प्रतिनिधिमूलक महिला र जनप्रतिनिधि बीच अन्तक्र्रिया भएको हो । ‘समानताको पुस्ता ः अन्त्य गरौं हिंसा विभेद र समानता’ भन्ने नाराका साथ अन्तक्र्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका सचेतक एवं वडा ७ का वडा अध्यक्ष तिर्थप्रसाद पंगेनीले महिलाहरु नै थप जागरुक हुनु आवश्यक रहेको बताए ।

उनले नगरपालिकाका सबै वडाले महिला उत्थानको शिर्षकमा बजेट राखेको उल्लेख गर्दै त्यसको कार्यान्वयन, आवश्यक कार्यक्रम मागका लागि एक भएर लाग्नु आवश्यक रहेकोमा जोड दिए । पंगेनीले समानताको कुरा आ–आफ्नो घरबाट सुरु गर्न महिलाहरुलाई आग्रह गरे । उनले नारी परिवर्तनको संवाहक भएको बताउँदै नगर भित्रको समस्या समाधानका लागि विशिष्ट उद्देश्य राखेर अघि बढ्न महिलाहरुलाई आग्रह गरे । रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दिनेशकुमार खनालले नारालाई सार्थक रुप दिन सके मात्र समानताको पुस्ताको विकास हुने बताए ।

कार्यक्रममा रामपुर नगरपालिका ७ का वडा सदस्य मिठ्ठुमाया सुनार, नेपाल महिला संघ रामपुरका सभापति शारदा आचार्य, अखिल नेपाल महिला संघ रामपुरका सचिव सञ्जु परियार र पत्रकार रमा भण्डारी लगायतले समयसंगै महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आए पनि महिला माथिको मानसिकता विभेद कायम नै रहेकोे बताईन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले महिलाको विश्वव्यापी र नेपालको अवस्था, प्राप्त अधिकार, महिला हिंसा, कानुनले गरेको व्यवस्थाका विषयमा जानकारी दिदै नगरपालिकाले फागुन २४ देखि पर्यटन महोत्सव आयोजना गरेकाले महिला दिवसको अवसरमा कार्यक्रम अहिले नै गरिएको बताए । बेस नेपालको सभाहलमा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालको अध्यक्षता रामपुर नगरपालिकाका महिला विकास सहायक निरिक्षक पूजा परियारको स्वागत र महिला विकास सहायक निरीक्षक सिर्जना रेग्मीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update