Shittalpati
छडको कच्चापदार्थ आयातमा कमी, राजस्व संकलन प्रभावित

भैरहवा । भैरहवा भन्सार कार्यालयबाट फलामे छड बनाउन आवश्यक कच्चापदार्थ ‘एमएस बिलेट’ आयातमा कमी आएको छ । गतवर्षको तुलनामा यस वर्ष २० हजार ६१ मेट्रिक टन कच्चापदार्थको आयातमा कमी आएको हो । कच्चापदार्थ कमी हुँदा राजश्व संकलन समेत प्रभावित भएको छ । दोस्रो ठूलो सो भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पुस महिनासम्म नौ हजार ८ सय ४१ मेट्रिक टन मात्र सो कच्चा पदार्थ आयात भएको छ । गत आवको सो अवधिमा २९ हजार ९ सय ३ मेट्रिक टन आयात भएको थियो ।

२० हजार ६१ मेट्रिक टन कच्चापदार्थको आयातमा कमी आएको प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए । कच्चा पदार्थ आयातमा कमी आउँदा राजश्वमा समेत कमी आएको छ । गत वर्षको पुससम्म दुई अर्ब २० करोड ४८ लाख ९२ हजार राजश्व असुली भएकोमा चालुआवको पुस सम्ममा ९५ करोड ९७ लाख २२ हजार मात्र असुली भएको छ । सो अवधिमा उठेको राजश्वमा एक अर्ब २४ करोड ५१ लाख ७० हजार कमी भएको भन्सार अधिकृत गोपाल शर्माले जानकारी दिए । पञ्चकन्या, लक्ष्मी, काठमाडौं, एसआर, एभरेष्ट रोलिङ जस्ता ठूला छड उद्योगले यो भन्सार हुँदै भारतबाट कच्चापदार्थ ल्याउने गर्दछ । यसरी कच्चापदार्थको आयातमा कमी हुनु पूर्वाधार विकासका काम कमी हुनु बुद्धिजीवीहरु बताउँछन् । –रासस

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update