पाल्पा, गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न लागेको छ । वित्तिय सेवा प्रदान गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्कृतिको संरक्षण सँगै प्रविधिमैत्रि तीजलाई प्रोत्साहन गर्नको लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैंकले प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ । उक्त टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका नेपाली नारीहरुले सहभागिता जनाउन सक्ने छन् । साथै प्रतियोगीहरुले टिकटक भिडियो बनाउदा तीजको मर्मलाई ख्याल गरी पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा कन्सेप्टमा बनाउनु पर्ने बैंकले जनाएको छ । साथै तीज पर्वको मर्म विपरीत बनेको वा उशृङ्गल तवरले बनेका भिडियोहरुलाई छनोट नगर्ने समेत बैंकले जनाएको छ । यो नेपाल मै नयाँ र नौलो प्रतियोगिता रहने जनाइएको छ । टिकटक प्रतियोगिताको विस्तृत जानकारी गरिमा विकास बैंकको फेसबुक र बेबसाईटमा पनि रहेको छ । टिकट भिडियो भदौ १० गतेदेखि २४ गतेसम्म क्यापसनमा ह्यासट्याग गरिमा तीजको लहर र ह्यासट्याग गरिमा विकास बैंक लेखेर पठाउन सकिने बैंकले जनाएको छ । प्रतियोगितामा विजेताले ९ हजार, उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै अत्याधिक राम्रो कन्सेप्टमा बनेको एउटा भिडियोले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विजेता छनोट भिडियोमा आउने लाईकको आधारमा हुने र बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुने छ । बैंकले आफ्नो वित्तिय सेवा प्रवाहलाई पनि चुस्त र छिटो, छरितो बनाउदै अगाडि बढाएको छ ।