पाल्पा, जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लब अफ पाल्पा तानसेनले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । क्लवले परिवार नियोजन संघ पाल्पालाई एम्बुलेन्स खरिदको लागि १४ लाख ८९ हजार ९ सय आर्थिक सहयोग गरेको हो ।
परिवार नियोजनको क्षेत्रमा काम गर्दै संघको सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्य राखेर क्लवले एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम क्लवले एक औपचारिक कार्यक्रमको आयोजना गरी शुक्रबार संघका प्रबन्धक शोवाकान्त न्यौपानेलाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा रो.इन्टरनेशल डिस्टिक ३२९२ का डिजि राजेन्द्र प्रसाद ध्वजुले क्लवले संघलाई एम्बुलेन्स खरिदको लागि गरेको सहयोग अत्यन्त प्रशंसनिय रहेको बताए । उनले विपन्न तथा विरामीलाई समयमै स्वास्थ्य उपचार पाउनको लागि एम्बुलेन्स खरिदले सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले क्लवले सेवा भावनाले एम्बुलेन्स खरिदमा गरेको सहयोग अनुकरणीय रहेको भन्दै क्लवको प्रशंसा गरे ।
स्वार्थ भन्दा माथि उठेर सेवा गर्ने मूल उद्देश्य लिएर २००१ मा स्थापना भएको क्लवले कोरोना माहामारीका बेलामा समेत महत्वपूर्ण कार्य गर्दै आएको छ । क्लवले जिल्लामा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नेदेखि सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।
महामारीका बेला जिल्लाका विभिन्न अस्पताललाई कोभिड संक्रमणमा सहयोग गर्न अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुको साथै विभिन्न शैक्षिक, सामाजिक काममा काम समेत क्लवले सहयोग गर्दै आएको क्लवका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । उनले विपन्न वर्ग र समस्यामा परेका व्यक्तिहरुको उद्दारमा आफुहरु सक्रिय हुँदै आएको बताए । क्लवले पाल्पामा गोपाल्दीमा खानेपानी लिफ्टिङ्ग योजना, मिसन अस्पतालमा आकाशे खानेपानी टंकी निर्माण, मिसन अस्पतालमा बेडहरू, अक्सिजन सिलिण्डर जडान, ह्प्यापी स्कुल, भिडियो एक्सरे, चर्पी सुधार कार्यक्रम, इ–लाइबेरी, मिसन अस्पतालमा फोहोर पानी व्यवस्थापन, पूर्वी पाल्पामा सिंचाइको लागि कुलो निर्माण लगाएतका योजनाहरु सम्पन्न गरेको अध्यक्ष भट्टराईले जानकारी दिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका उपाध्यक्ष ज्योतीराज भण्डारीले क्लबले संघ प्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै क्लवलाई धन्यवाद दिए ।