पाल्पा, नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैकले सेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने व्यवस्था गरेको हो । सीमित व्यक्तिले बैंकबाट सेयर धितोमा कर्जा लिएर पुनः बजारमै लगानी गर्दा जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै केन्द्रीय बैंकले यसलाई कडाइ गर्न लागेको छ । मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्ममात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गर्ने घोषणा गरिएको छ । उक्त प्रावधानलाई कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले एकीकृत निर्देशन तयारी गरिरहेको छ । निर्देशनमार्फत बैंकबाट कर्जा लिएर सेयर बजारमा ठूलो लगानी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने राष्ट्र बैंकले तयारी गरेको हो ।
बैंकिङ प्रणालीबाट सेयर धितोमा प्रवाह भएको कर्जामध्ये अधिकांश सीमित व्यक्तिले उपभोग गर्दै आएका छन् । मौद्रिक नीतिमा तोकिएको सीमाभन्दा बढी ऋणको कारोबार गर्ने ऋणीहरूको संख्या एक सयभन्दा बढी छ ।
सेयर बजारलाई स्थायित्व दिने काम मार्केट मेकर तथा म्युचुअल फन्डले गर्नुपर्ने ठाउँमा केहि सीमित व्यक्ति तथा संस्थाले नै बजारलाई तलमाथि गराउन सक्ने अवस्था खतराको सूचक रहेको भन्दै यसलाई तोड्नका लागि सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ । समग्रमा मौद्रिक नीति सकारात्मक भए पनि कर्जाको विषयमा अड्को थापिएको लगानी कर्ताहरुको गुनासो छ । बढी कर्जाले लिएर बजारलाई वा वित्तीय क्षेत्रलाई कुनै त्यस्तो प्रभाव नपारेका अवस्थामा कर्जामा अंकुश लगाउनुुले समस्या थपेको उनीहरुको भनाई छ । सेयर बजारमा लगानी गर्नेको संस्था थपिँदै गएको अवस्थामा व्यक्तिको हक वा संस्थाका कर्जाको विषयमा एकपटक पुनः विचार गर्नुुपर्नेमा लगानीकर्ताकहरुले बताउदै आएका छन् ।