Shittalpati
जनताको घर–घरमा पुगेर गुनासो सुन्दै मेयर शाही

सविना थापा मगर
पाल्पा, चुनावका बेला ठूला–ठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही भने यतिबेला घर–घरमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दै आएका छन् । उनले ‘जनताको घर–घरमा नगरप्रमुख’ नाम दिएर अभियान नै सञ्चालन गर्दै आएका छन् ।
निर्वाचन हुनुअघि दिइएका आश्वासन, चुनावी घोषणापत्रमा लेखिएका विकासे आयोजना कार्यान्वयनको सम्भाव्यता र भइरहेका प्रयासबारे जनतालाई सुनाउने र उनीहरुका गुनासाहरु अभियानमा सुन्ने गरिन्छ । मेयर शाहीले नागरिकको गुनासो सुन्नका लागि केन्द्रित गरेको यो अभियान तानसेन नगरपालिका–१३ छेर्लुङबाट शुरू भई अहिले नगरका सबै वडा–वडामा पुगेको छ । नगर प्रमुख शाहीले खासगरी ग्रामीण र विपन्न बस्तीमा यो अभियान केन्द्रित गरेका छन् । विहीबार पनि मेयर शाही सहित उपप्रमुख लक्ष्मी देवी पाठक, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे लगायतको टोली तानसेन– ८ मदनपोेखराको छाप पुगेको थियो । मेयर शाही जनताको घरदैलोमा पुग्दा स्थानीयले गुनासो राखेका छन् । नगरप्रमुखसँग स्थानीयले वृद्धभत्ता वितरणमा विभेद गरिएको, भत्ता समयमै नपाएको,कृषि अनुदान नआएको, खेल क्षेत्रको विकासमा नगर सरकारले ध्यान नदिएको जस्ता गुनासाहरु राखेका थिए । त्यसैगरी स्थानीयले छापालाई व्यवसायिक कृषि पकेट क्षेत्र घोषणा गरी सहुलियत दरमा ऋण र तालिमको व्यवस्था गर्न माग गरेका छन् ।

स्थानीय रामबहादुर सिंहले आफु व्यवसायिक कृषिमा लागे पनि कृषि औजारको समस्या रहेको बताए । गीता सिंह ठकुरी र बुद्धबहादुर पन्थले सामाजिक सुरक्षा भत्तामा विभेद गर्ने गरिएको गुनासो गरे । स्थानीय केशव रानाले खेलकुदमा लागेर आफ्नो भविष्य बनाउन चाहाने युवाहरुका लागि खेल मैदान निर्माण गरिदिन नगर प्रमुखसँग आग्रह गरे । भूमि समस्या समाधान समितिका अध्यक्ष एक प्रसाद भण्डारी, सोमनाथ अर्याल, लक्ष्मी थापा, नारायण नगरकोटी लगायतले मेयरसमक्ष गुनासा राखेका थिए । जनताका समस्या र गुनासोपछि नगरप्रमुख शाहीले जनताले उठाएका गुनासाहरूको सम्बोधन गर्ने बताए । उनले ५ वर्ष भित्रमा ५० प्रतिशत स्वास्थ्य बिमा गर्ने र आगामी ५ बर्ष भित्रमा शतप्रतिश नागरिकको स्वास्थ्य बिमा गरिसक्ने बताए । अहिले ११ हजार घरपरिवारका २ हजार २ सय सदस्य स्वास्थ्य बिमाबाट लाभान्वित भएका छन् । स्वदेशमै व्यवसाय गर्न चाहाने युवाका लागि नगरपालिकाले ऋण दिने व्यवस्था समेत मिलाएको नगर प्रमुख शाहीले बताए । मेयरसँगै जनताको घरमा पुगेकी उपप्रमुख लक्ष्मीदेवी पाठकले नगरपालिकाले नगरका १४ वटै वडामा पुगेर विकास निर्माण तथा जनताका आवाजलाई सुन्ने र सम्बोधन गर्ने कार्यक्रमले जनताले सिंहदरबारको अधिकार घर–घरमै पाएको बताइन् । उनले युवा स्वरोजगार कार्यक्रममा महिलाको व्यापक सहभागिता हुनुपर्नेमा जोड दिइन् । प्रमुख प्रशासकिय अधिकृत पितामबर पाण्डेले गाउँ टोलमा भएका समस्या समधानमा नगरपालिका प्रतिवद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा पशु शाखा प्रमुख दान बहादुर कुंवर, स्वास्थ्य शाखा प्रमुख झपिन्द्र न्यौपाने, नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्य, तानसेन नगर युवा परिषदका अध्यक्ष गुराँस आत्रेय, हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम प्रवन्धक अनन्त सिलवाल, ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्की, नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका निर्वमान अध्यक्ष राजेश कुमार अर्याल, ८ का वडा अध्यक्ष राम प्रसाद घिमिरे लगायतले जनताका समस्या र नगरपालिकाले प्राथमिकता दिनुपर्ने विषयका बारेमा आ–आफ्ना धारणा राखेका थिए । सोही अवसरमा नमूना महिला स्वलम्बन समूह र मदनपोखरा युवा समूहलाई कृषि उपकरण र बाख्राका लागि आवश्यक औषधी समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update