रमेश विश्वकर्मा
गुल्मी, गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो ।
उसले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई व्यवसायीहरुको लागि खोप उपलब्ध गराउन भन्दै पत्र समेत बुझाएको छ । चेम्बरले जिल्लामा रहेका सबै प्रकारका व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको अध्यक्ष युवराज न्यौपानेले जानकारी दिए । उनले देशको अर्थतन्त्रलाई माथि उकास्ने र ठूलो मात्रामा राज्यलाई कर तिर्ने सबै प्रकारका व्यवसायीहरुलाई कोरोना विरुद्ध भएको खोप अझै उपलब्ध नभएकाले जिल्लास्थित सबै व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको बताए । माग पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यवसायीहरुलाई लक्षित गरी अझै खोप नआएकाले बचत भएको खोपको आधारमा उपलब्ध गराउने बताइन् । जिल्लामा आएर लक्षित समूहले लगाएपछि बचत भएको खोप चरणबद्ध रुपमा प्राथमिकताका आधारले व्यवसायीलाई उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् । व्यवसायीलाई खोप उपलब्ध नभएको विषयमा आफुलाई ध्यानाकर्षण भएको भन्दै प्रजिअ शर्माले कुनै न कुनै मापदण्डको आधारमा संख्यात्मक हिसाबले खोप उपलब्ध गराउने बताइन् । गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष युवराज न्यौपाने, बरिष्ठ उपाध्यक्ष बिरेन्द्र भुसाल, उपाध्यक्ष रेमलाल पाण्डे, महासचिव कृष्ण प्रसाद भण्डारी र सचिव यज्ञश्वर पन्थी लगायतले जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारी शर्मालाई माग पत्र बुझाएका हुन ।
उनीहरुले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उद्यमी व्यवसायीले निषेधाज्ञामा अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्बाध उत्पादन तथा वितरणका लागि काम गरिरहेकाले निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पूरा गर्नसमेत निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिनुपर्नेमा उनीहरुले जोड दिए ।