Shittalpati
सुन्दर तानसेन बनाउन सम्झौता

पाल्पा, जिल्लाको तानसेन नगरपालिकाले नगरलाई सुन्दर र सफा शहर बनाउने गरी योजना अगाडि बढाएको छ । नगर सरकारले तानसेनको फोहोर व्यवस्थापन गरी सुन्दर र सफा नगर बनाउन योजना अगाडि बढाएको हो ।

तानसेनको दीर्घकालीन फोहोर व्यवस्थापन गर्नका लागि तानसेन नगरपालिकाले वातावरणीय सुन्दर नेपाल रुपन्देहीसँग सम्झौता गरेको छ । उसले नगरमा संकलन हुने फोहोर व्यवस्थापन गर्न दुईपक्षीय सम्झौता गरेको हो । फोहोर व्यवस्थापन गरी तानसेनलाई सुन्दर र सफा शहर बनाउन नीजि संस्थासँग सम्झौता गरिएको नगरप्रमुख अशोक कुमार शाहीले बताए । यहाँ दैनिक १० टन फोहोर निस्कने गर्दछ । त्यसलाई व्यवस्थापन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।

नगर प्रमुख शाहीले लामो समयको अध्ययन र विज्ञको सुझाव अनुसार तानसेनको फोहोर व्यवस्थापन गर्न लागिएको बताए । नगरपालिकाले सार्वजनिक नीजि साझेदारी कार्यक्रममार्फत फोहोर व्यवस्थापन गर्न थालेको हो । तानसेनलाई सुन्दर र सफा नगर बनाउन सुरुका दिनदेखि नै लागे पनि विविध कारणले गर्दा ढिलाई भएको नगर प्रमुख शाहीले बताए । उनले भने‘ नगर सफा राख्ने र यहाँका नागरिकलाई स्वच्छ र स्वस्थ जीवनयापन बाच्न पाउने अधिकारलाई नगरपालिकाले सुनिश्चित गर्ने छ । ’ फोहोर व्यवस्थापन गर्न भएको सम्झौताले महत्वपूर्ण भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा वातावरणीय सुन्दर नेपाल, रुपन्देहीका अध्यक्ष कृष्णमाया कार्कीले तानसेन नगरपालिकासँग भएको सम्झौता अनुसार आफूहरूले तानसेनको फोहोर व्यवस्थापन गर्ने बताईन । उनले फोहोर व्यवस्थापनको अभियानमा सुन्दर नेपालले उत्कृष्ट काम गर्दै आएको र तानसेनमा पनि यहाँका नागरिकले अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले नगरपालिकाले विकासको काममा नीजि क्षेत्रसँग मिलेर अघि बढ्न लागेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, तानसेन–६ का वडा अध्यक्ष सागरमान महर्जनले तानसेनको फोहोर व्यवस्थापनमा भएको सम्झौताले साथर्कता पाउनुपर्नेमा जोड दिए । कार्यक्रम नगरप्रमुख शाहीको अध्यक्षता, नगर उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत, सूचना अधिकारी दुर्गाबहादुर थापाको सञ्चालनमा सम्झौता कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update