गुल्मी, होली पूर्णिमा मेलाको तयारी तीव्र पारिएको छ । बागलुङमा रहेको सामाजिक संस्था घुम्टे युवा परिवारले आफनो ३५ औं वार्षिकोत्सव तथा होली पूर्णिमाको अवसरमा सञ्चालन गर्न लागेको मेलाको तयारी तीव्र पारिएको हो । समाजले फागुन २३ गते देखि २६ गते सम्म सञ्चालन हुने मेलाको एक कार्यक्रमका बीच जानकारी गराएको छ । मेलामा बृहत कृषि प्रदर्शनी, वडास्तरीय पुरुष भलिबल, सामूहिक लोक नृत्य, पुरुष तथा महिला रस्साकसी प्रतियोगिता आयोजना गरिएको समाजले जनाएको छ ।
मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकी, नौमती बाजासँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत सञ्चालन हुने छन् । सोही अवसरमा राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरु लोक तथा दोहोरी गायिका विमाकुमारी दुरा, विष्णु खत्री, बसन्त थापा, ईश्वर सिंह, राम खत्री लगायतको सांगतिक प्रस्तुति रहने संस्थाले जनाएको छ । जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा प्रायोजक तथा सहयोगदाताहरुको विवरण प्रस्तुत गरिएको थियो । समाजले मेलालाई सभ्य र भव्य रुपमा सफल पार्नको निमित्त विभिन्न उपसमितिहरु चयन गरेको छ ।
पिताम्बर गौतमको संयोजकत्वमा ९ सदस्यीय कृषि मेला व्यवस्थापन समिति, जीवन साहानीको संयोजकत्वमा ५ सदस्यीय खेलकुद, राजकुमार दर्जीको संयोजकत्वमा ३ सदस्यीय सांस्कृतिक, शिवबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय रस्साकसी व्यवस्थापन, ज्ञानबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय झाँकी तथा नौमती व्यवस्थापन, दुर्गाबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय अतिथि सत्कार, लोकबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय सुरक्षा परिचालन, सरोज थापाको संयोजकत्वमा ३ सदस्यीय प्रचार–प्रसार, भरत केसीको संयोजकत्वमा ३ सदस्यीय साउण्ड सिष्टम व्यवस्थापन, रामचन्द्र गौतमको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार व्यवस्थापन, सन्तबहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन, रामबहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, दुर्गाबहादुर थापाको संयोजकत्वमा प्राथमिक उपचार र प्रकाश थापाको संयोजकत्वमा ३ सदस्यीय खाजा व्यवस्थापन समिति चयन गरिएको संस्थाले जनाएको छ ।
संस्थाले स्थापनाकालदेखि होली पूर्णिमा मेलामा आफ्नो वार्षिकोत्सव मनाउँदै आइरहेको छ । घुम्टे युवा परिवार मल्म गलकोट बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सह सचिव प्रकाश थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । –पत्रकार कौरव खत्रीबाट