Shittalpati
कोरियाबाट फर्केकालाई सहुलियत कर्जा

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएकाहरुका लागि स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले सहुलियत कर्जा उपलब्ध गराउने भएको हो ।


बैंकले सहुलियत कर्जा उपलब्ध गराउन अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् । बैंक र अंकुर नेपालबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको बैकले जनाएको छ । यस समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभव सहित स्वदेश फर्किएका युवालाई पुनः विदेशिनु पर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पूँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुुग्ने बैंकले विश्वास लिएको छ । बैंकले विभिन्न बैंकिङ्ग सेवा सुविधाहरु सहज तथा सहुलियत रुपमा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । उसले अहिले मुलुकभर तथा मुलुक बाहिर ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाख बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update