
पाल्पा । दुर्ब्यसनी न्यूनिकरणमा बगनासकाली गाउँपालिकाका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । सरोकारवालाहरुले बालमैत्री गाउँपालिका घोषणाको तयारीमा रहेको गाउँपालिकालाई दुर्ब्यसनी न्यूनिकरणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । गाउँपालिका स्तरीय बाल संरक्षण तथा सम्वद्र्धन समितिको आयोजना, समुदाय प्रहरी साझेदारीमा वडा ३,मा दुर्ब्यसनी न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रममा सहभागी, स्थानीय व्यापारी, बालसञ्जालका पदाधिकारी,बालक्लवका सदस्यहरु,राजनितिक दल, जनप्रतिनिधि, स्थानीय प्रहरी, कर्मचारी लगायतले धुम्रपान मध्यपान र लागुऔषधहरु आफूले पनि प्रयोग नगर्ने र नगर्न आफ्नो तर्फबाट न्यूनिकरण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष टेकनाथ शर्मा गैरेले पछिल्लो समय देखासिकीका कारण नेपाली समाजमा सानै उमेर समूहका बालकालिकाहरु लागुपदार्थ दुर्ब्यसनीमा फस्ने गरेको भन्दै उनीहरुलाई सचेत गराउन अभिभावक, छरछिमेक सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले विकृती र विसंगतीका कारण बालबालिकाहरू जिद्दी स्वाभावका हुने गरेको बताए । उनले भने,‘आफुले भनेको कुरा प्राप्त गर्न अभिभावकसंग झगडा गर्ने, रूने, कराउने भनेको नमान्ने गर्दछन् । जसले गर्दा एक्लै बस्ने र अभिभावकसँग आफुले मागेको वस्तु प्राप्त गरी खराव साथीको संगत गरी कुलतमा फस्ने गरेका छन् ।’
गैरेले आफ्ना बालबालिकालाई निगरानीमा राखि कुलतमा फस्नबाट जोगाउन अभिभावकहरू सचेत रहनुपर्ने बताए । कार्यक्रममा सहायक प्रहरी निरीक्षक गणेश विश्वकर्माले दुर्ब्यसनी भनेको के हो ?, यसले समाजमा पारेको नकारात्मक असर, लागुऔषधका प्रकार, किसिम र ओसारपसार तथा सजायका विषयमा अभिभावक र विद्यार्थीलाई जानकारी गराएका थिए । राम्दी प्रहरी चौकीका प्रमुख खडानन्द भुषालले अभिभावहरूले छोराछोरीहरू प्रति ख्याल राख्ने बानीको विकास गर्न सके कुलतमा पर्ने डर कम हुने बताए ।
बालमैत्री स्थानीय शासन फोकल पर्सन मनोज आचार्यले बालमैत्री घोषणाका तयारीमा रहेका बेला दुर्ब्यसनी न्यूनिकरणमा सबैले देखाएको चासो र प्रतिवद्धताले आफुहरुलाई थप हौसला मिलेको बताए । कार्यक्रममा वडा अध्यक्ष टीका थापा, न्यायिक समिति सदस्य कुल प्रसाद ढुंगाना, समाजसेवी गणेश श्रेष्ठ, इन्दिरा राना लगायतले दुव्र्यसनी न्युनिकरणका लागि चालिएका प्रयासहरूले सकारात्मक प्रभाव पार्ने बताएका थिए । बालसंरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष मीनबहादुर रानाको अध्यक्षता, सदस्य निशा खरालको स्वागत, समितिका उपाध्यक्ष गीता रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।