
रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा सञ्चालित प्रायः संघ–संस्थाहरुले सामान्य औपचारिक कार्यक्रमहरुको आयोजना गरेर वार्षिक साधारण सभा तथा अन्य कार्यक्रमहरु गर्ने गर्दछन् । तर ती औपचारिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरुले प्राय लक्षित उद्देश्य बोकेको देखिदैन । शनिबार जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको संस्था भवन तथा बाटो निर्माणकर्मी संघले भने लक्षित वर्गलाई नै केन्द्रित गरी वार्षिक सधारण सभा मनाएको छ । संघले नवौं वार्षिक साधारण सभालाई जिल्लामै नौलो ढङ्गले औपाचारिक कार्यक्रम गरी मनाएको हो । कार्यक्रममा संघले श्रमिक, मजदुरहरुलाई संस्थाप्रति उत्तरदायी र जिम्मेवार बोध गराउनका लागि फरक–फरक शैलिमा सम्मान गरेको छ ।
तानसेनको श्रीनगरडाँडामा सञ्चालन भएको कार्यक्रममा संघले नेता तथा सरोकारवालाहरुको भाषणलाई भन्दा पनि श्रमिकहरुलाई केन्द्रित गरी संस्थाको गतिविधिका विषयमा के कति जानकारी रहेछ भनि जाँच्न संस्था सम्बन्धी विभिन्न प्रश्नहरु सोधी सहि जवाफ दिने श्रमिकलाई पुरस्कृत गर्यो, त्यत्ति मात्र होइन कार्यक्रममा संस्थाले निर्धारण गरेको समयभित्र आउने श्रमिक र निर्माणकर्मीलाई पुरस्कृत गरेको छ । जिल्लामा हुने हरेक कार्यक्रममा प्रमुख अतिथि कलाई बनाउने, कहाँबाट ल्याउने भन्ने विषयले व्यापकता पाउन्छ । प्रमुख अतिथिका रुपमा ल्याईने अधिकांश व्यक्ति उच्चपदस्थ नै हुन्छन् ।
तर संघले भने प्रमुख अतिथिको आसन उच्चपदस्थबाट नभई श्रमिकहरु मध्येबाट जेष्ठ व्यक्तिलाई प्रमुख अतिथि बराई नमूना काम गरेको छ । कार्यक्रममा संघका अध्यक्ष सुरेशकुमार कर्माचार्यले संस्था सम्बन्धी प्रश्नहरु तयार गरी श्रमिकलाई क्रमश सोध्ने र सही जवाफ दिनेलाई पुरस्कृत गरेका थिए । कर्माचार्यले प्रश्न गरिरहँदा मञ्च अगाडि रहेका दर्शक र ड्यासमा आसिन अतिथिहरु निकै उत्साहका साथ कार्यक्रम श्रवण गरिरहेका थिए । कर्माचार्यले करिव २५ वटा प्रश्न सोधेर श्रमिकहरुलाई संस्थाप्रति उत्तरदायी बनाउने प्रयास गरे । संस्थाका विषयमा श्रमिकहरुलाई के कति जानकारी रहेछ भनि जाँच गर्नका लागि यस्तो विधि अपनाइएको संघका अध्यक्ष कर्माचार्यले बताए । उनले भने ‘हरेक वर्ष गरिने साधारण सभाभन्दा यस वर्ष फरक ढले गरेका हौं ।, जसले श्रमिक वर्गमा संस्था प्रति अपनत्व बढ्ने छ ।’
कार्यक्रममा प्रमुख अतिथि जेष्ठ श्रमिक सुन्तली नेपालीले जिन्दगीमा आफुले कहिल्यै नसोचेको सम्मान संघले प्रदान गरेकोमा धन्यवाद दिदै खुसी व्यक्त गरिन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा संघका सल्लाहकार माधव नेपाल, संघका कानुनी सल्लाहकार अधिवक्ता शिवप्रसाद देवकोटा, लेखापरीक्षण संयोजक कृष्णप्रसाद पौड्याल, परेवा पाक्षिकका सम्पादक भोजराज भट्टराई, तानसेन नगरपालिकाका इञ्जिनियर सुमन पाण्डे, व्रिज सिमेन्टका एरियार म्यानेजर विजय न्यौपाने लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका कोषाध्यक्ष प्रेम बुढाले आर्थिक वर्ष २०७५/०७६ को २७ लाख ३६ हजार ६ सय ८५ बराबरको आयव्यय प्रस्तुत गरेका थिए । सोही अवसरमा संघलाई महत्वपूर्ण योगदान पुयाएका कार्यालय प्रमुख सुप्रिया महर्जन, कार्यालय सहायक अजय सुवाल, श्रमिक एकल महिला, जेष्ठ श्रमिक, विद्यार्थी, संघका सल्लाहकारहरुलाई समेत सम्मान गरिएको थियो । संघका अध्यक्ष सुरेश कर्माचार्यको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष गणेश रावलको स्वागत, संघका प्रथम उपाध्यक्ष लोकबहादुर गाहाको धन्यवाद, सचिव हुमराज बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।