पाल्पा, नेपाली काँग्रेस पाल्पाले तानसेन नगरपालिका ६ कुंसरेका विपन्न परिवारलाई राहत सामग्री दिएको छ । काँग्रेसले कोभिडका कारण प्रभावित बनेका यहाँका १० घर परिवारलाई राहत स्वरुप खाद्यान्न दिएको हो ।
काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा गएको टोलीले घरमै पुगेर खाद्यान्न सहयोग गरेको काँग्रेस जिल्ला सचिव झपेन्द्र गहिरेले बताए । उक्त खाद्यान्न सामग्री सभापति रानाले विपन्न परिवारलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै सभापति रानाले कोरोना महामारीका कारण विपन्न परिवार बढी प्रभावित भएकाले काँग्रेसले केही भए पनि राहत मिलोस् भनेर जिल्लाका विपन्न बस्तीहरुमा राहत लिएर पुगेको बताए । उनले भने ‘यो सानो सहयोगले विपन्न परिवारको गर्जो टार्न नसकिए पनि काँग्रेस जनताको दुःखमा सधै सँगै रहेको भावना जागृत गर्नका लागि भए पनि विपन्न बस्तीमा राहत लिएर पुग्ने गरेका छौं ।’ नगर भित्र भएर पनि कुंसरेका नागरिक बत्ति मुनिको अध्यारो बन्नु परेकोमा उनले दुःख व्यक्त गरे । सभापति रानाले जबसम्म गा्रमिण जनताको जीवनस्तरमा सुधार आउन सक्दैन तबसम्म जनताले विकासको अनुभूति गर्न नसक्ने बताए ।
कार्यक्रममा काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरेले नेपाली काँग्रेसले असहाय र अति विपन्नहरुलाई अभियानकै रुपमा सघाएको बताए । नेपाली काँग्रेसका युवा नेता राजेन्द्र गोपाल सिंहले गाँउको विकासमा काँग्रेसको ध्यान जानुपर्ने बताए । पार्टीका सल्लाहकार विधान श्रेष्ठ, महासमिति सदस्य सुनिता अधिकारी, पूर्व उपसभापति कृष्ण अधिकारी, वडा नं. ६ का अध्यक्ष सागरमान महर्जन, ७ का अध्यक्ष मुक्ति राम जीसी लगायतले नगर क्षेत्रका ग्रामिण वडामा ध्यान पुर्याउन बजेट कमि भएको बताउँदै विना पक्षपात योजना सञ्चालन अहिलेको आवश्यकता रहेको औल्याए । सोही अवसरमा कुंसरेमा नवर्निमित खानेपानी टंकीको समेत उद्घाटन गरिएको छ । एक लाख ५५ हजारको लागतमा निर्माण भएको माहागौरी धामपानी टंकीको लुम्बिनी प्रदेश सांसद तथा काँग्रेसका जिल्ला सभापति रानाले उद्घाटन गरेका हुन् । स्लाजित दीर्घ सिंहले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । सुरेश थापाको अध्यक्षता, बलबहादुर पुनः मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।