Shittalpati
रिडीमा बजार अनुगमन, २७ हजारको सुर्तीजन्य पदार्थ बरामद

रमेश विश्वकर्मा

गुल्मी, जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको मुख्य बजार रहेको रिडी बजारमा पसहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा यहाँका पसलहरुको अनुगमन गरिएको हो ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीको नेतृत्वमा घरेलु तथा साना उद्योग विकास गुल्मीका प्रमुख लक्ष्मण घिमिरे, ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक शोभराम बम, रुरुक्षेत्र गाउँपालिकाका सव–इन्जिनियर रोमाकान्त पाण्डे र पत्रकार कृष्ण अञ्जान ज्ञवालीको टोलीले बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा पसलहरुमा मुल्य सुची नराखिएको, खरिद तथा बिक्री बिल नदेखिएको, सुर्तीजन्य पदार्थहरु दर्ता नगरी बिक्री वितरण गरिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । उनले रिडी बजारबाट दर्ता नगरिएको २७ हजार बराबरको सुर्तीजन्य पदार्थ बरामद गरिएको बताए । अन्तःशुल्कको कार्यालयमा दर्ता गरेपछी मात्र उक्त सुर्तीजन्य पदार्थहरु फिर्ता गरिने भण्डारीले उल्लेख गरे ।

अनुगमन गर्न गएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी सहितको टोलीले सबै पसलहरुमा मूल्य सूची राख्न, लकडाउन अलि खुकुलो भएको ७ दिनभित्र पसलहरु दर्ता एवं नविकरण गर्न आग्रह गरेको छ । अनुगमनको क्रममा म्याद नाघेको खाद्यान्न सामानहरु नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update