Shittalpati
तीन वर्षदेखि चामल आयात घट्दै

पाल्पा,  लुम्बिनी प्रदेशमा तीन वर्षदेखि चामल आयात घट्दै गएको छ । भैरहवा नाका हुँदै भित्रिने चामलको आयातमा कमी आएको भैरहवा भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । चामल आयात घट्नुमा उत्पादन बढेर भने नभएको बताइएको छ । भैरहवा भन्सार नाका हुँदै आयात निर्यात झन्झटिलो, समय लाग्ने र सवारी साधनको लामो लाइन, कुर्नुपर्ने भएकाले आयातकर्ताहरुले अन्य वैकल्पिक नाका प्रयोग गर्दा आयात घटेको व्यवसायीहरु बताउँछन् ।

भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा भैरहवा नाकाबाट ७ अर्ब ६५ करोड २९ लाख ११ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ । सो आर्थिक वर्षमा १ लाख ७३ हजार ७ सय ८ मेट्रिकटन चामल आयात हुँदा कार्यालयले ८८ करोड २७ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ८४ करोड ७६ लाख ९७ हजार रुपैयाँ बराबरको १ लाख ९३ हजार ७ सय ६३ मेट्रिक टन र २०७६/०७७ मा ८ अर्ब ४५ करोड ८५ लाख ५१ हजार बराबरको १ लाख ८० हजार ६१ मेट्रिकटन चामल आयात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । यो तथ्यांकले पनि भैरहवा नाका हुँदै चामल आयात घटेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update