Shittalpati
ग्लोबल आइएमई बैंकले ल्यायो भ्रमण योजना

पाल्पा,  ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्रमण योजना ल्याएको छ । कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने गरी बैंकले कर्मचारीहरुका लागि भ्रमण योजना ल्याएको हो ।

बैंकमा कार्यरत कर्मचारीहरुले वार्षिक बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ । कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको जनाएको छ । यस्तो परिस्थितिमा थोरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

यस्तै बैंकको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम ८ दशमलव शून्य १ प्रतिशतसम्म ब्याज पाइने भएको छ । साउन १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकलाई वार्षिक ८ दशमलव शून्य १ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउनेछ । मुद्दती खाता बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी सुरक्षित रही घरबाटै खोल्न सकिनेछ । बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्चतम प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको छ । हाल बैंकले २७३ शाखा, २४७ एटीएम, २५७ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update