
पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाए शैक्षिक क्रियाकलापहरु सञ्चालन नगर्ने बताएका छन् । उनीहरुले जोखिम मोलेर शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्नु परेको भन्दै तत्काल खोप व्यवस्था नगरे सम्पूर्ण शैक्षिक गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन् ।
सरकारले शिक्षक, प्राध्यापकहरुलाई दोस्रो प्राथमिकतामा राखेकोमा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखे पछि रिब्दीकोटका शिक्षकहरुले खोपको व्यवस्था गर्न माग गरेका छन् । जिल्ला तथा स्थानीय सरकारले शिक्षकप्रति संवेदनशिल नबनेको उनीहरुको आरोप छ ।
शिक्षकहरुले प्रत्यक्ष विद्यार्थी तथा अभिभावकसँग सम्पर्क हुने शिक्षकहरुलाई खोपको लागि व्यवस्था गर्न अपिल गरेका छन् । पालिका भरिका शिक्षक तथा कर्मचारीहरुले खोपका लागि गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रबार रिब्दीकोट गाउँपालिका भित्रका पेशागत संघ, संगठन, प्रअको सामुहिक निर्णयले खोपको व्यवस्था नगर्दासम्म बिद्यालयमा भएका अनलाइन कक्षा र कक्षा ११/१२ का परीक्षा, इएमआइएस भर्ने काम, लगायत विद्यालयका सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय भएको नेपाल राष्ट्रिय शिक्षक संगठन रिब्दीकोटका अध्यक्ष रुद्र प्रसाद आचार्यले बताए ।