Shittalpati
माथागढीले दियो ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई निरन्तरता

रामचन्द्र रायमाझी
पाल्पा,जिल्लाको माथागढी गाउँपालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि नै सञ्चालन गर्दै आएको ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।

गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पुर्‍याउने उद्देश्यले सञ्चालन गर्दै आएको ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा पनि समावेश गरेको छ । ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमले गर्भवती महिलाहरु नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाहरु जाने र पोषणयुक्त खाने कुराहरुमा ध्यान दिन थालेपछि यो कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले बताईन् । गाउँपालिकाले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेपछि अहिले स्वास्थ्य संस्थामा पुगि नियमित गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको उनको भनाई छ ।

अहिले यहाँका महिलाहरु गर्भ रहेको चार महिनादेखि नै स्वास्थ्य संस्थामा चेकजाँचका लागि पुग्ने गरेका छन् । जसले गर्दा आमा र शिशुको अवस्थालाई स्वस्थ राख्न यो कार्यक्रम प्रभावकारी बन्न पुगेको गाउँपालिका स्वास्थ्य संयोजक केशव जिसीले बताए । कार्यक्रम प्रभावकारी बन्दै गएपछि आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिइएको संयोजक उनको भनाई छ । जिसीका अनुसार गाउँपालिकाले ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन गरेको छ ।

अण्डामा मानिसलाई चाहिने सबै पोषक तत्व पाइने र सबैभन्दा बढी प्रोटिनको स्रोत भएकाले गर्भवती र सुत्केरी अवस्थामा पोषण पर्याप्त भए जन्मने शिशु स्वस्थ जन्मिने भएकाले पनि गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई उपहार स्वरुप अण्डा वितरण गर्दै आएको छ । अण्डा उपहार कार्यक्रमले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामै आएर नियमित गर्भ परीक्षण गराउने बानीको विकास भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अज्ञानताका कारण हिजोका दिनहरुमा गर्भवती भई घरमै सुत्केरी हुने महिला दिदीबहिनीहरु हिजोआज भने स्वास्थ्य संस्थामा जाने गरेका छन् । पौष्टिक आहारविहार र परीक्षण नहुँदा आमा र शिशुको ज्यान जोखिममा हुने गथ्यो । तर हिजोआज भने गाउँपालिकाले टोल–टोलमा सचेतना र प्रोत्साहन कार्यक्रम सञ्चालन गरेकाले यस्तो अवस्थामा कमी आएको सरोकारवालाहरु बताउँछन् । गाउँपालिकाले गर्भवती महिलामा गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्दै आएको छ । गर्भवती महिलाले ४, ६, ८ र ९ महिना गरी चार पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने हुन्छ । गर्भ जाँच गराउने गर्भवतीले अण्डा उपहार पाएको देखेर गाउँका अन्य गर्भवती महिला पनि स्वास्थ्य चौकी आउने गरेको र यो अभियानले गर्दा धेरैजसो महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेको स्वास्थ्य संस्थाको तथ्यांकमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update