पाल्पा,नेपाल एसबिआई बैंकले जिल्लाका कोभिड अस्पतालहरुलाई बेड उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य कार्यालय पाल्पामार्फत पाल्पा अस्पताल र दुईवटा स्थानीय तहका कोभिड अस्पतालहरुमा बेड सहयोग गरेको हो ।
बैंकले स्वास्थ्य कार्यालयलाई उपलब्ध गराएका ७ थान फोल्डिङ्ग हस्पिटल बेडहरु मध्ये ५ थान पाल्पा अस्पताल, एक/एक थान रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालन भएका कोभिड अस्पतालका लागि उपलब्ध गराइएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले बताए । स्वास्थ्य कार्यालयले अस्पताल र सम्बन्धित स्थानीय तहका प्रमुखहरुलाई उक्त बेड हस्तान्तरण गरेको हो ।
जिल्लाका केही कोभिड अस्पतालहरुमा बेड अभाव भएको भन्ने कुरा आएकाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य कार्यालयलाई उक्त बेड उपलब्ध गराई सम्बन्धित निकायलाई दिइएको बैंकका शाखा प्रवन्धक बसन्त गुरागाईँले बताए । स्वास्थ्य कार्यालयले ति बेडहरु प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको उपस्थितीमा सम्बन्धित निकायका प्रतिनिधिहरुलाई हस्तान्तरण गराएको हो ।
बेड हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले कोरोना महामारीका बेला बैंकले देखाएको सद्भाव र सहयोग अत्यन्त प्रशंसनिय रहेको बताए । कार्यक्रममा पाल्पा अस्पताल, गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न बैंक तथा बित्तिय संस्थाका प्रमूखहरु, बैंकका कर्मचारी र स्वास्थ्य कार्यालयका कर्मचारी लगायतका व्यक्तिहरुको उपस्थिती थियो । जिल्लाका अधिकांस स्थानीय तहमा सञ्चालन गरिएका कोभिड अस्पतालहरुमा बेड नहुँदा कोरोना संक्रमितको उपचारमा समस्या आएको सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मीहरुको गुनासो छ । उपलब्ध बेडले केही भए पनि संक्रमितहरुको उपचारमा सहज हुने बैंकले विश्वास लिएको छ ।