रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६१ करोड ५२ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापाले नवौं गाउँसभामा विहीबार ६१ करोड ५२ लाख १५ हजारको बजेट सार्वजनिक गरेकी हुन् । विनियोजित रकममध्ये चालुतर्फ ३७ करोड ९४ लाख ६५ हजार र पुँजीगतर्फ २३ करोड ५७ लाख ५० हजार निर्धारण गरिएको उनले सभामा जानकारी गराईन् ।
उनका अनुसार ‘उज्यालो रैनादेवी, समृद्ध रैनादेवी, धार्मिक र खेलकूद पर्यटनको गन्तव्य रैनादेवी’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएकोे छ । गाउँपालिकाले विकासको पथमा अगाडि लैजानका लागि सुन्दरे ढुङ्गा, जुठापौवा, सालझण्डी मोटरबाटो तथा कटौजे पानी खेल मैदानलाई संघ र प्रदेशसँगको समपुरक योजनाको रुपमा अगाडि बढाएको छ । उक्त योजनाका लागि संघीय समपुरक कोषमा एक करोड ६६ लाख र प्रदेश समपुरकमा एक करोड ५० लाख विनियोजन गरिएको छ । गाउँपालिकालाई सडक सञ्जालमा जोड्नका लागि छहरा,ताङ्सीङ्गल, सातमुरे कालोपत्रेका लागि ५० लाख विनियोजन गरिएको उपाध्यक्ष थापाले बताइन् । यस्तै बजेटमा स्थानीय तहलाई जनतासँग लैजानका लागि वडास्तरीय योजना छनौट अन्तर्गत ४ करोड १५ लाख रकम विनियोजन गरिएको छ । गाउँपालिकाको प्रशासकिय भवन यसै वर्ष सम्पन्न गर्नका लागि १ करोड ८० लाख रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ । प्रत्येक वडामा प्रशासकिय भवन व्यवस्थित गर्न एक वडा एक सभाहल कार्यक्रमलाई निरन्तरता दिइएको छ । उक्त योजनाका लागि ५० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड–१९ र कृषिलाई बजेटमा प्राथमिकता दिएको छ । यसले कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागिका लागि ३८ लाख विनियोजन गरेको छ । गाउँपालिकावासीको स्वास्थ्य बीमा गर्ने नीति पनि गाउँपालिकाले लिएको छ । यसका लागि गाउँपालिकाले ७ लाख छुट्याएको छ । गाउँपालिकाले आमा स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती हरियो झण्डा कार्यक्रम, स्वास्थ्य बा–आमा कार्यक्रम अन्तर्गत घरघरमै गई जेष्ठ नागरिकको डाक्टर सहितको स्वास्थ्य परीक्षण, विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्ने कार्यक्रमलाई नीति, कार्यक्रम तथा बजेटमा समावेश गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । उनका अनुसार गाउँपालिकाले यहाँका अधिकांस नागरिकको मुख्य पेशा कृषि र पशुपालनलाई पनि बजेटमा प्राथमिकता दिएको छ । कृषि र पशुपालनमार्फत नागरिकको आयआर्जनमा वृद्धि गर्न १ करोड ४१ लाख रकम विनियोजन गरिएको अध्यक्ष कार्कीको भनाई छ । कृषकलाई प्रोत्साहन अनुदान दिने व्यवस्था पनि गाउँपालिकाले गरेको उनले बताए । आफूहरू स्थानीय तहमा निर्वाचित भएर आएपछिको यो अन्तिम बजेट भएकाले अपूरा योजना पूरा गर्ने गरी पुँजी परिचालन गरिने पनि अध्यक्ष कार्कीको भनाई छ ।
यस्तै नवौं गाउँसभाको लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति विरबहादुर रानाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सांसद रानाले स्थानीय सरकार सफल भए मात्र संघीयता सफल हुने बताएका छन् । स्थानीय सरकार नै जनताको घरदैलोको सरकार भएकाले यसलाई श्रोत साधनबाट बलियो बनाउनु पर्ने उनको भनाई छ । सिंहदरवारमा रहेको अधिकार स्थानीय सरकारले घर दैलोमा पुर्याईदिएको सांसद रानाले बताए । उनले जनप्रतिनिधी र कर्मचारीको मिलेमोतोमा विकास निर्माण तथा बजेटलाई राम्रोसँग कार्यान्वयन गर्न सकिने भएकाले सोही अनुसार काम गर्न कर्मचारी र जनप्रतिनधीहरुलाई आग्रह गरे । जनताको पहिलो प्राथमिकता बास, गास भएकाले सोही कुरालाई आधार बनाएर सबैपक्षले काम गर्नुपर्ने सांसद रानाको भनाई छ । बजेट तथा नीति कार्यक्रममा सबै पक्षलाई समेटिएको, सबैका भावना विचार र अभिव्यक्तिहरुको सम्मान हुने गरी कार्यक्रम प्रस्तुत भएको सांसद रानाले बताए । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरे, पत्रकार महासंघ पाल्पाका सह सचिव कृष्ण दर्नाल, पाल्पा उद्योग वाणिज्य संघका जिल्ला सदस्य नित्यानन्द पोखेरल लगायतले गाउँ सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सभामा वर्षभर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई नगदसहित पुरस्कृत गरिएको छ । गाउँपालिका ८ का वडा अध्यक्ष थमन बहादुर राना, लेखा अधिकृत लिलामणी बस्याल, स्वास्थ्य संयोजक जीवन राना, नासु रविन्द्र रायमाझी, हेल्थ असिस्टेण्ड राकेश बस्नेत, ल्याव टेक्निसियन शर्मिला राना, कार्यालय सहयोगीहरु अम्मरबहादुर रायमाझी र विर सिंह बलाललाई पुरस्कृत गरिएको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षता, गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलको स्वागत, प्रमुख प्रशासकिय अधिकृत इन्द्राबहादुर क्षेत्रीको सञ्चालनमा भएको थियो ।