Shittalpati
परीक्षा नजिकिँदा पाल्पा सहित देशभरका विद्यार्थी मारमा,नियमनकारी निकाय नै मौन

रामचन्द्र रायमाझी
पाल्पा,विप्लवको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार देशभर गरेको शैक्षिक हड्ताले विद्यार्थीहरु मारमा परेका छन् । अन्तिम परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु शैक्षिक हड्तालका कारण बढी मारमा परेका हुन् । हड्तालका कारण बुधबार विद्यालयहरु सञ्चालन हुन सकेनन् । शैक्षिक हड्तालको आह्वानले पाल्पा सहित देशभरका निजी तथा सरकारी विद्यालयहरु ठप्प रहे । लगातार विद्यालय बन्दको कारण लाखौं विद्यार्थीको पठन पाठनमा असर पर्दा समेत सरकार बन्दकर्तालाई कारवाहीको दायरामा ल्याउन असफल भएको छ । आफ्ना निहीत माग पुरा गर्न हरेक विद्यार्थी संगठको पहिलो निसाना विद्यालय बन्द नै हुने गरेको छ । शैक्षिक हड्तालको नाममा पटक–पटक लाखौं विद्यार्थीको भविष्य अन्योल हुँदासम्म सरकार मौन रहेको छ ।

नियमनकारी निकाय शिक्षा विभाग विद्यालय बन्द भएको विषयमा मौन देखिएका छन् । पाल्पामा बुधबार भएको शैक्षिक हड्तालका कारण ७१ हजार विद्यार्थीहरुको पढाई प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ । विभिन्न विदाका कारण नसकिएको शैक्षिक कार्यक्रम सिध्याउने चटारोमा जिल्लाका अधिकांस विद्यालयहरु रहेका बेला, शैक्षिक हड्ताल गरिएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा गरिए पनि राजनितिक माग राखेर गरिएका बन्दले धेरै विद्यार्थीको भविष्य नै अन्यौलमा रहेको छ । शैक्षिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाईने भन्दै राजनितिक दलहरुले सहमति जनाए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन् । पटक –पटक हुने बन्दका कारण विद्यार्थीहरु मर्कामा परेका छन् । सरकारले शैक्षिक संस्थाहरुलाई सुरक्षा दिन नसक्दा आफुहरुले विद्यालय बन्द गर्नु परेको प्यावसन पाल्पाले जनाएको छ । अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै संगठनका केन्द्रिय नेता कार्यकर्तालाई गिरफ्तारीबाट मुक्त गर्नुपर्ने भन्दै त्यसको विरोधमा बुधबार देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update