
पाल्पा (रामपुर),निस्दी १ बाकामलाङ्ग चार घरेमा सञ्चालन हुँदै आएको मणी बालविकास केन्द्रको भवन निर्माण भएको छ । स्थानीयले अन्य प्रयोजनका लागि निर्माण गरेका कच्ची भवनमा सञ्चालन हुँदै आएको बालविकास केन्द्रमा नयाँ भवन निर्माण भएको हो । जापानिज नागरिक काजुमासा काकीमी ओके बाजेको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानमा भवन निर्माण भएसंगै स्थानीयहरु खुशी भएका छन् । जापानिज नागरिक काजुमासा काकीमी ओके बाजेको २ लाख आर्थिक सहयोग र स्थानीयको ५४ हजार बराबरको जनश्रमदान मार्फत निर्माण भएको १ कोठे भवनको मंगलबार उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन गर्दै जापानिज नागरिक काजुमासा काकीमी ओके बाजेले जापानमा बालबालिकाहरुले संकलन गरेको रकमबाट भवन निर्माण भएको बताए । उनले भवनको संरक्षणसंगै बालबालिको शिक्षा प्रदानमा विशेष जोड दिन आग्रह गरे । कार्यक्रममा निस्दी गाउँपालिका १ का वडाअध्यक्ष पूर्णबहादुर खाँणले वडाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । त्यस्तै कार्यक्रममा समाजसेवी गोविन्दबहादुर वंशी, प्रेमप्रसाद श्रेष्ठ, दुर्गाबहादुर वंशीले आफ्नो भनाई राखेका थिए । मणी बालविकास केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तोयाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम बालविकास सहयोगी युकुमारी वंशीको स्वागत र बुद्धिविकास प्राथमिक विद्यालयका प्रधानाध्यापक चिन्तामणी पाण्डेको सञ्चालनमा भएको हो ।