
पाल्पा, सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलबारदेखि शुरु गरेसँगै भर्ना अभियान सुरु भएको हो ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । मन्त्रालयले शिक्षा तथा मानवविकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान सुरु गर्न निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो ।
विद्यालयले विद्यार्थीको अभिलेखीकरण पूरा गरी आफ्नो नजिकको विक्रेताबाट पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ । त्यसपछि विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा वैकल्पिक विधि अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइलाई अगाडि बढाउनु पर्नेछ । कोरोना महामारी घटेर स्थिति सामान्य भएपछि भने विद्यालयले भौतिकरुपमा विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्न सक्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गरेका छन् । शिक्षक सङ्गठनसँग भएको भर्चुअल छलफलमा उनले भर्ना अभियानलाई सफल पार्न सबैमा आह्वान गरेका हुन् ।