Shittalpati
भ्रमण वर्षः पर्यटकीय गन्तव्य बन्दै भैरवस्थान

कृष्ण दर्नाल 
पाल्पा, रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, सामाजिक–साँस्कृतिक एवं धार्मिक हिसाबले महत्व बोकेको पाल्पा भैरव धार्मिक आस्थाको केन्द्रका साथै पर्यटकलाई आकर्षित गर्न समेत सफल भएको हो । धार्मिक आस्था बोकेका मानिसहरु मन्दिरमा दर्शन गर्ने र दुःखसुखमा देवीलाई पुकारा गर्छन् । हिन्दू धर्मप्रति आस्थावान, ऐतिहासिक महत्व खोज अनुसन्धान गर्न कै लागि मन्दिरमा टहलिँदा पर्यटक लोभिन्छन् । दैनिक एक हजार भक्तजनले मन्दिरमा दर्शन गर्दै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताए । उनले मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले मन्दिर क्षेत्रमा बिहानैदेखि चहलपहल हुने गरेको जानकारी दिए ।

पर्यटकको चहलपहलका कारण मन्दिरमा आम्दानीको स्रोत समेत बढ्दो छ । अध्यक्ष अधिकारीले गत आव २०७५/०७६ सालमा ८५ लाख मन्दिरमा आम्दानी भएको बताए । नेपाल एकीकरणका बेला पाल्पा शक्तिशाली राज्य हो । शक्तिशाली सेन राजाको राज्य रहेकोले पनि यस भूमिको ऐतिहासिक महत्व रहेको छ । ऐतिहासिक महत्वको खोज अनुसन्धानका लागि स्वदेशी मात्र होइन विदेशीहरु पाल्पा भैरव मन्दिर क्षेत्रमा टहलिछन् । समितिका सचिव नवराज ज्ञवालीका अनुसार गतवर्ष लाखौ आन्तरिक पर्यटक मन्दिरमा भ्रमण एवं दर्शन गर्न आएको बताए । विदेशीहरु चिनियाँ, बेलायती, अमेरिकी, रसियन, भियतनामी लगायतका नागरिक मन्दिरमा अनुसन्धान र अवलोकनका लागि आउने गरेको सचिवको ज्ञवालीको भनाइ छ ।

भारतबाट वार्षिक ६ सय देखि एक हजार हाराहारीमा पर्यटक मन्दिरमा पूजा गर्न आउने गर्छन् । पाल्पा भैरव पहिला पहिला धार्मिक आस्थाको केन्द्रको रुपमा मात्र सीमित थियो । तर, धार्मिक तथा ऐतिहासिक रुपमा यसको चर्चा र महत्व बाहिरिएपछि पर्यटकीय गन्तव्यको रुपमा बदलिएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास भएसँगै सरकारले सुरक्षा चासो बढाएको छ । मन्दिरका लागि अहिले एक प्रहरीको समेत व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रमा मानवीय रुपमा सम्भावित जोखिमको न्यूनीकरणका लागि सीसीटीभी जडान गरिएको छ । तानसेनदेखि करिब १० किलोमिटर पश्चिममा भैरव मन्दिर छ । एकिकरणपूर्व चौबिसे राज्यमध्ये पाल्पा पनि एक थियो ।

सेन वंशका राजा मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा पूर्वका काशी र पश्चिममा हरिद्वारसम्म फैलिएको थियो । काठमाडौं खाल्डोमा विसं १५१५ मा आक्रमण गर्दा मच्छिन्द्रनाथको विहारको पटाङ्गीनीमा रहेको भैरवको मूर्ति ल्याएर स्थापना गरेको मानिन्छ । भैरव मन्दिरको माथिल्लो तलामा सर्वसाधारणको दर्शनार्थ कीर्तमुख भैरवको स्थापना गरिएको छ । खास भैरवलाई सर्वसाधारणले हेर्न हुँदैन भन्ने मान्यता छ । सो भैरव मूर्ति भुइँतलामा छ । बगलमा कालीको मूर्ति छ । मन्दिरमा भाक्कल पुजा, क्षमापुजा, पञ्चबली पुजा हुन्छ । यहाँ प्रसादको रुपमा चढाइने रोटको विशेष महत्व हुन्छ । नेपाली एकीकरणका समयमा पाल्पाका सेन राजालाई शक्तिशाली राज्यका रुपमा मानिन्छ । सेन राजाका पालामा भैरव मन्दिर स्थापित भएको हो । स्थानीय बासिन्दाले रोट पकाउने तथा मन्दिरमा चढाउने सामग्रीको कारोबारबाट रोजगारी तथा स्वरोजागर सिर्जना हुँदै आएको सचिव ज्ञवालीको दावी छ । -रासस 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update