पाल्पा, कोरोना संक्रमणका कारण पाल्पामा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । निधेषाज्ञाको समयमा बजारमा दैनिक उपभोग्य खाद्य सामग्रीमा मूल्य बढाइएको जिल्ला प्रशासनमा गुनासो पुगेपछि सोमबार सहायक प्रमुख जिल्ला अधिकारी सशीधर घिमिरेको नेतृत्वमा तानसेन बजार अनुगमन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा खाद्य पसलहरूको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी थमनबहादुर सारुले जानकारी दिए । कोभिड १९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड अपनाइ पसल सञ्चालन भए, नभएको तथा खाद्यवस्तुको कृत्रिम अभाव देखाई मूल्यवृद्धि र कालोबजारी नहोस् भने हेतुले बजार अनुगमन गरिएको उनले बताए ।
सोमबार तानसेनका १७ वटा खाद्य पसलहरूको अनुगमन गरिएको छ । तानसेन नगरपालिका क्षेत्रका नारायणस्थान, मेहल्धारा, बसपार्क, लहरेपिपल, मखनटोल, भगवतीटोलका दैनिक उपभोग्य सामग्री विक्री गर्ने ठूला होलसेल पसलहरुमा अनुगमन गरिएको तानसेन नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताए ।अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तानसेन नगरपालिका लगायतको सहभागितामा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले जानकारी दिए ।