Shittalpati
गुल्मीका पत्रकारले अक्सिजन प्लान्टका लागि संकलन गरेर दिए ६० लाख

रमेश विश्वकर्मा
गुल्मी, जिल्लामा अक्सिन अभाव हुन नदिन अक्सिजन प्लान्ट निर्माणका लागि यहाँका पत्रकारहरुले रकम संकलन गरेका छन् । उनीहरुले स्वदेश तथा विदेशमा रहेका नेपालीहरु, विभिन्न संघसंस्थाहरुबाट रकम संकलन गरेका हुन् । उक्त संकलित रकम पत्रकारहरुको छात्रा संगठन पत्रकार महासंघ गुल्मी शाखा मार्फत उनीहरुले अक्सिजन प्लान्टका लागि गुल्मी अस्पताललाई हस्तान्तरण गरेका छन् ।

महासंघले सोमबार गुल्मी अस्पताललाई ६० लाख हस्तान्तरण गरेको छ । अस्पतालका डाक्टर उत्तम पच्यालाई महासंघका अध्यक्ष टोपलाल अर्याल सहितको टोलिले एक कार्यक्रमका बिच उक्त रकमको चेक हस्तान्तरण गरेको हो । महासंघले जिल्लामा अक्सिजनको अभाव नहोस भनेर बैशाख २५ गतेदेखी अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सहयोग अभियान सञ्चालन गरेको थियो । सोही सहयोग अभियानमार्फत संकलन भएको ६० लाखको चेक जिल्ला अस्पतालमा अक्सिज प्लान्ट स्थापना गर्नका लागि प्रदान गरिएको हो ।

जिल्लामा बिरामीहरुले अक्सिज नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आउन थालेको भन्दै यस अघि महासंघले पाँच लाख रुपैयाँ बराबरको २० वटा ठूला भरिएका अक्सिजन सिलिन्डर समेत अस्पतालाई प्रदान गरेको थियो । जिल्लामा पछिल्लो समयमा संक्रमित बिरामीहरुको संख्या वृद्धि हुँदै गएको सन्दर्भमा सिलिन्डर भर्न लगायत विभिन्न समस्याहरु आउने भएकाले अक्सिज प्लान्ट स्थापना नै उत्तम भएको भन्दै अभियान सञ्चालन गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए । देश तथा विदेशबाट करिब ७० लाख रुपयाँ संकलन भएको महासंघले जनाएको छ । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल सरकारबाट एक करोड रकम समेत विनियोजन भएको छ । यस्तै जिल्लामा पाँच वेडको आइसियु सञ्चालन गर्नका लागि पनि दुई करोड रकम विनियोजन भएको छ । महासंघबाट प्राप्त रकम र नेपाल सरकारको एक करोड रकमबाट निर्माण कार्य अगाडि बढाइने अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए । उनले पत्रकार महासंघ गुल्मीले देशमै नमुना कार्य गरेको भन्दै धन्यबाद ब्यक्त गरे । महासंघ गुल्मीको अभियानले सार्थकता पाएको भन्दै जति सक्दो छिटो अक्सिजन प्लान्ट स्थापना गर्नका लागि अस्पताल विकास समिति लाग्ने उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update