
रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा भइरहेको तीव्र विकास र जनसंख्याको अनियन्त्रित वृद्धिसँगै बढ्दो सवारी साधनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिन थालेको छ । योसँगै सडकमा पैदलयात्रुका लागि जेब्राक्रसिङ नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । जिल्लाभित्र पर्ने सिद्धार्थ राजमार्ग अन्तर्गतका केही स्थानीय तहका सडकमा जेब्राक्रसिङ नहुँदा पैदल यात्रुलाई बाटो काट्न समस्या र दिनहुँ जसो दुर्घटना भइरहेका बेला जिल्ला ट्राफिक कार्यालयले भने स्थानीय तहको समन्वयमा जेब्राक्रस बनाउन लागेको छ ।
सिद्धार्थ राजमार्गभित्र पर्ने तानसेनको बर्तुङ्गदेखि राम्दीसम्मको सडक २४ सै घण्टा व्यस्त रहन्छ । सडकमा तीव्र गतिमा सवारी साधन हुँइकिरहेका हुन्छन् । जसकारण दुर्घटनाको जोखिम उच्च रहेको छ । यसरी सवारीको गति कम गर्न र पैदलयात्रुलाई सहजरुपमा बाटो काट्नका लागि जिल्ला ट्राफिक कार्यालयले बर्तुङ्गदेखि राम्दीसम्मको सडकमा जेब्राक्रस बनाउन लागेको हो । ट्राफिक प्रहरीले बगनासकाली गाउँपालिकाको समन्वयमा आइतबार सिद्धार्थ राजमार्ग अन्तर्गतको गाउँपालिका भित्र रहेका घोरबन्दादेखि आर्यभञ्याङ्गसम्मको सडकमा जेब्राक्रस बनाएको छ । सडकमा कोरिएका सेता धर्साहरु (जेब्राक्रस)को महत्वका विषयमा प्राय यात्रुहरु अनभिज्ञ छन् ।
जेब्राक्रसलाई पैदलयात्रुदेखि सवारी चालकसम्मले ख्याल गर्दैनन् । पैदलयात्रुले पनि जेब्राक्रस छाडेर यत्रतत्र बाटो काट्ने परिपाटी व्याप्त रहेका बेला सचेतना जगाउने गरी व्यस्त सडकका सात स्थानमा जेब्राक्रस बनाउन लागिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख पृथ्वीकुमार काफ्लेले बताए । उनले भने ‘जेब्रा क्रसिङ बनाउने दायित्व आफूहरुको नभएपनि दुर्घटनाको जोखिम कम गर्न पहल थालेका छौं ।’ अझै केही व्यक्तिहरुमा जेब्राक्रसबाटै बाटो काट्नुपर्छ भन्ने सचेतना छैनन् प्रमुख काफ्लेले भने, ‘बानी लगाउँदा विस्तारै बानी बस्छ, सचेत पनि हुन्छन् ।’
सर्वसाधारणलाई सडकमा हिँड्दा कहाँबाट बाटो काट्ने भन्ने जानकारी नभएपछि जेब्राक्रस बनाएर जथाभावी बाटो काट्न हुन्न भनेर सिकाउन थालिएको उनले बताए । गाउँपालिका भित्र चहलपहल बढ्दै गएकाले राजमार्गमा यात्रा गर्ने यात्रुहरु सडकमा जेब्राक्रस नहुँदा दुर्घटनाको जोखिम खेप्नुपर्ने अवस्था रहेकाले त्यसका लागि ट्राफिक प्रहरीसँग सहकार्य गरी गाउँपालिका भित्र रहेका व्यस्त सडकमा जेब्राक्रस, ट्राफिक सचेतनाका लागि सूचना बोर्डहरु राख्ने काम थालिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनले भने ‘घोरबन्दादेखि राम्दीसम्मको सडकमा जेब्राक्रस र सूचनाबोर्डका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु गाउँपालिकाले उपलब्ध गराउने छ ।’
सडकमा जेब्राक्रस बनाएर मात्र दुर्घटना पूर्णरुपमा नरोकिने भन्दै अध्यक्ष बस्यालले सवारी साधन र पैदलयात्रु दुवैले जेब्राक्रसको ख्याल गर्न आग्रह गरे । उनले भने ‘ट्राफिकले मात्र सवारी दुर्घटनाको न्यूनीकरण रोक्न सक्दैन, त्यसका लागि सवारी साधन र पैदलयात्रु दुवै सर्तक रहनुपर्छ ।’