पाल्पा (माथागढी), जिल्लाको माथागढी गाउँपालिकाको दोस्रो आवधिक योजना तथा पहिलो दीर्घकालिन गुरुयोजना सम्बन्धि कार्यशाला गोष्ठी भएको छ । समृद्ध माथागढी बनाउने महत्वकाक्षीं योजनाका साथ गाउँपालिकाले पञ्चवर्षिय आवधिक योजनासंगै दीर्घकालीन गुरुयोजना बनाउनका लागि कार्यशाला गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा योजना निर्माणका लागि आवश्यक पर्ने ज्ञान प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका स्थानीयतहका विज्ञ डा. बुद्धिमान श्रेष्ठले योजना के हो ? यसको उद्देश्य, प्रकार, योजना निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारी, सरोकारवाहरुलाई जानकारी गराएका थिए । उनले सहकारीता, समन्वय, सह अस्तित्वलाई आधार मानेर योजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
गोष्ठी उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समिति पाल्पाकी कार्यवाहक प्रमुख मिरा मरासिनीले आज देखेको सपनालाई यर्थाथमा परिणत गरी भावि सन्ततीहरुलाई मातुभुमी र जन्मभुमी प्रति गौरव बोध बनाउने गरी खाँका निर्माण गर्नु नै आवधिक तथा दीर्घकालिन योजना भएको बताईन् । माथागढी गाउँपालिकाले थालेको आवधिक तथा दीर्घकालीन योजनाले विकास निर्माणको गती सही बाटोमा हिडाउने, सबै किसिमका विकास निर्माणका कामहरु सन्तुलितरुपमा लैजाने जिल्ला समन्वयकी कार्यवाहक प्रमुख मरासिनीले बताईन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले सबै वडाका घर–घरमा खानेपानीको धारा, वडा–वडामा रोजगार कार्यक्रम, सबै घरमा विद्युतिकरण, वडा–वडामा पक्की सडक, टोल–टोलमा होमस्टे, डाडाँकाडाँमा पर्यटकीय पुर्वाधार, आत्मनिर्भरमुखी उत्पादन, निर्यातमुखी कृषि तथा पशुपालन जस्ता विषवस्तु समेटेर योजना निर्माण गर्न थालिएको बताए । आजको माथागढीको वास्तविक अवस्थालाई मध्यनजर गर्दै अबको २० बर्षमा माथागढी गाउँपालिकाको परिकल्पना गर्दै गाउँपालिकाबाट नमुना गाउँपालिका बनाउने अभियानका साथ गुरुयोजना निर्माणमा जुटेको पालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताईन् ।
आवधिक तथा दीर्घकालीन योजना बनाउन पालिकाको ८ वटै वडाका जनप्रतिनिधीहरु, राजनितिक दलका नेता तथा कार्यकर्ता, वडा सचिव, विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य चौकीका प्रमुखहरु, बुढापाका तथा पुराना अनुभवी व्यक्तिहरु, ड्रिम्स ईन्टरनेशल ईन्जिनियरिङ्ग एण्ड कन्सलटेन्टी, एरिना ईन्टरनेशल ईन्जिनियरिङ्ग एण्ड कन्सलटेन्टीका सहजकर्ताहरु गाउँ–गाउँमा खटिने छन् । आवधिक तथा दीर्घकालीन योजना निर्माणका लागि आयोजना गरिएको कार्यशाला गोष्ठीमा योजना निर्माणको औपचारिक कार्यक्रमको सञ्चालन अधिकृत नारायण न्यौपानेले गरेका थिए ।


