रामचन्द्र रायमाझी
पाल्पा,  नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव बुधबार हुँदैछ । महासंघको २६ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिँदै गर्दा सामाजिक सञ्रुजाल पत्रकारहरूकै आकर्षक तस्विर र नाराले रंगिएका छन् । महाधिवेशनले पत्रकारिताको बजार तातेको छ । उम्मेदवारहरुलाई मतदातासँग मत माग्ने चटारो छ । चैत २५ मा हुने निर्वाचनबाट निर्वाचित हुन विभिन्न प्रतिवद्धता उम्मेदवारहरुले गरिरहेका छन् । महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार हुन लागेको छ । उम्मेदवारी दर्ता फरक–फरक दिन भए पनि निर्वाचन भने संघीय, प्रदेश र जिल्लाको एकै दिन हुनेछ ।
 पत्रकार महासंघ पाल्पाको नेतृत्वका लागि तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रेस चौतारी नेपालबाट कमलराज तिमिल्सीना, प्रेस सेन्टरबाट रेखीराम राना र स्वतन्त्रबाट जीवलाल सुवेदीले उम्मेदवारी दिएका छन् । उनीहरु तीनै जनाले महासंघलाई साझा संगठन बनाउने प्रतिबद्धता जनाउदै आएका छन् । स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार दिएका जीवलाल सुवेदीले आफ्नो जित सुनिश्चत रहेको दावी गर्दै आएका छन् । उनले पत्रकार महासंघ दलगत रुपमा अगाडि बढेकोले आफु निर्वाचित भएमा महासंघलाई साझा संगठनका रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाए । सुवेदीले आफ्नो उम्मेदवारी दलीय सिण्डीकेट भत्काउनु पनि रहेको बताए । महासंघ दलीय छायाँमा परेर व्यावसायिक पत्रकारको हकहितको मुद्दा ओझेलमा परेको भन्दै त्यसको अन्त्य गर्न आफु लाग्ने उनको भनाई छ । पत्रकार र मिडियाको संख्या बढे पनि गुणस्तरीय मिडिया र क्षमतावान पत्रकार बनाउन नसकिएको भन्दै सुवेदीले ‘मिडियामा गुणस्तरीयता वृद्धि गर्नका लागि ग्रामीण क्षेत्रका पत्रकारहरुको क्षमता विकासमा पहिलो प्राथमिकता दिनेछु ।’ उनले श्रमजिवी पत्रकारहरुले श्रमको मूल्य पाउन नसकेको भन्दै त्यसका लागि सरकारको ध्यानाकर्षण गराउन आफु लाग्ने बताए । उनी स्वतन्त्र पत्रकार राष्ट्रिय समितिका महासचिव हुन् । त्यस्तै प्रेस सेन्टरबाट अध्यक्षका उम्मेदवार बनेका रेखीराम रानाले पनि आफ्नो जित सुनिश्चत रहेको दाबी गरेका छन् । एजनेडीसँग कुरा गर्दै रानाले लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गरेकाले आफूले जित्ने निश्चित भएको बताए। ‘सबै पत्रकारको साथ सहयोगले मैले जित्ने निश्चित छ’ उनले भने, ‘जितेपछि महासंघलाई साझा संगठन बनाउने, श्रमजिवी पत्रकार र उनीहरूको व्यवसायिक हितका लागि लड्नेछु ।’ पत्रकारको छाता संगठन महासंघ भए पनि अझै सबै आकर्षणको केन्द्र बनाउन नसकिएको भन्दै अध्यक्षका प्रत्याशी रानाले आफू निर्वाचित भएमा महासंघलाई वास्तविक र व्यवहारिक रुपमा साझा संगठनको रुपमा विकास गरेर देखाउने बताए । उनले महासंघको गरिमालाई थप उचाईमा पुर्याउने दिशामा अग्रस भएर लाग्ने प्रतिवद्धता जनाए । रानाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा पनि आफुले ध्यान दिने बताए ।
 यस्तै प्रेस चौतारी नेपालबाट अध्यक्षका उम्मेदवार बनेका कमल तिमिल्सीना पनि आफूले जित्ने बताउँछन् । महासंघलाई सबैको साझा बनाई संस्थागत विकास गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । तिमिल्सीनाले श्रमजीवी पत्रकारको मुद्दा अझै ओझेलमा रहेकाले आफू नेतृत्वमा आए त्यसलाई स्थापित गराउने प्रतिवद्धता जनाए । उनले श्रमजिवी पत्रकारहरुको क्षमता अभिवृद्धि गरी सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता र श्रमजिवी पत्रकारहरुको वकालत गर्ने, महासंघको गरिमा र पत्रकारहरुको प्रतिष्ठालाई जोगाई राख्ने र समानुपातिक विज्ञापन निती कार्यन्वयन गराउनमा आफु प्रतिवद्ध रहने बताए । पाल्पामा उपाध्यक्षमा नेपाल प्रेस युनियनका सभापति भरत शर्मा, महिला उपाध्यक्षमा प्रेस चौतारीको सिर्जना घिमिरे र कोषाध्यक्षमा नेपाल प्रेस युनियनका मुक्तिप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भइसकेका छन् ।


                                        
                                        
                                        
                                        
                    
                    
                    