Shittalpati
माथागढीले पनि बालमैत्री गाउँपालिका घोषणा गर्दै

पाल्पा(झडेवा), जिल्लाको माथागढी गाउँपालिकाले पनि बालमैत्री गाउँपालिका घोषण गर्ने गरी कामलाई तीव्रता दिएको छ । गाउँपालिकालाई बालबालिका मैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गर्ने गरी गाउँपापालिकाले अभियानलाई अगाडि बढाएको हो । गाउँपालिकाले अहिले वडा वडाबाट कार्यक्रमका लागि राय, सुझाव र सूचकका विषयमा छलफल र परामर्श चलाउँदै आएको छ । गाउँपालिकालाई २०७८ चैत्र मसान्त भित्र नै बालमैत्री घोषणा गर्ने गरी तयारीमा जुटिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार गाउँपालिकाले संस्थागत सूचक, कार्यालय र वडा कार्यालयहरुले गर्नुपर्ने कामका कारवाहीका विषयमा समेत छलफल चलाएको छ । बालमैत्री वडा घोषणाको लागि स्थानीय शासन कार्ययोजना निर्माण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ गोठादीमा बालमैत्री स्थानीय शासनका सुचक बारे छलफल तथा बाल मैत्री स्थानीय शासन कार्ययोजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिकालाई पूर्ण रुपमा बालमैत्री बनाउन गाउँपालिकाले ल्याएको कार्यक्रम अनुसार आफ्नो वडाले पनि यसलाई कार्यान्वयन गर्न पहल गरेको वडा अध्यक्ष रन बहादुर खाम्चाले बताए ।


छलफल कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारको ध्यान भौतिक पुर्वाधार विकासमा बढी केन्द्रीत भएको बताउँदै त्यो भन्दा ठूलो विकास मानविय ब्यवहार र चेतना स्तरको विकास भएको बताएका थिए । कार्यक्रममा बेस नेपाल पाल्पाका कार्यकारी निर्देशक शालिकाराम पाण्डेले माथागढी गाउँपालिका र वेस नेपालको सहकार्यमा गाउँपालिकालाई पूर्ण बालमैत्री गाउँपालिका बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । ३२ जना सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा बेस नेपाल पाल्पाका कार्यकारी निर्देशक पाण्डेले सहजिकरण गरेका थिए । अभिमुखी कार्यक्रम पछि वडा अध्यक्षको अध्यक्षतामा १५ सदस्यीय वडा बालमैत्री स्थानीय शासन समिति समेत गठन गरिएको छ । कार्यक्रममा ७ बुदे कार्ययोजना पनि बनाइएको छ । यो कार्यक्रम गाउँपालिकाका ८ वटै वडाहरुमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update