Shittalpati
पशुपालक किसानलाई अनुदान

बुटवल, रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिक रुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई ४८ लाख ८७ हजार ४ सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख गणेश खनालले जानकारी दिए ।गाउँपालिका–४ र ५ का किसानले पशुका लागि ४४ लाख १८ हजार र विभिन्न उपकरण तथा सामग्री बापतको चार लाख ६९ हजार ४ सय अनुदान रकम पाएका छन् ।सो अन्तर्गत लागत साझेदारी कार्यक्रम तथा त्रिपक्षीय साझेदारी कार्यक्रम अन्तर्गत संघीय सरकारको २४ लाख ५२ हजार ७ सय र गाउँपालिकाको २४ लाख ३४ हजार ७ सय अनुदान रकम रहेको छ । अनुदान प्राप्त गर्न किसानले कम्तीमा पनि दुई थान गाई वा भैँसी पाल्नुपर्ने र समूह बनाउनुपर्ने प्रावधान छ । गाउँपालिकामा अहिले १०/१० जनाको पाँच समूह रहेको छ ।

गाउँपालिकामा लागत साझेदारी तथा त्रिपक्षीय साझेदारी कार्यक्रम लागू भएपछि समूह बनाई किसानलाई विभिन्न किसिमका तालीम, उपकरण वितरण, औषधोपचार लगायत काम गर्दै आएको गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताए । अनुदान रकम लिएका किसानलाई रकमको सही ठाउँमा सदुपयोग गर्न गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले आग्रह गरिन् । लागत साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई १४ विद्युतीय च्यापकटर र ६० थान काउम्याट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले जानकारी दिए । गाउँपालिकाले गाई गोठ, बाख्रा गोठ, कुखुरा खोर सुधार तथा पोखरी निर्माण, विभिन्न कृषि यन्त्र वितरणलगायत कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसँग सम्बन्धित किसानलाई समेत अनुदान वितरण गर्दै आएको छ । गाउँपालिकामा अहिले बाच्छी हुर्काउने कार्यक्रम अन्तर्गत बाच्छीको जन्मदर्ता गरिदिने, राम्रोसँग पालनपोषण गरे १० हजार अनुदान दिने तथा बीमा, औषधोपपचार गरिने व्यवस्थासमेत लागू गरिएको गाउँपालिकाले जनाएको छ । –रासस

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update