तानसेन,युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो नयाँ शाखा पाल्पाको तानसेनमा विस्तार गरेको छ । फाईनान्सले २५ औं शाखाको रुपमा तानसेनको विशाल बजारमा विस्तार गरेको हो ।
शाखाको सोमबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले शाखाको उद्घाटन गरेका हुन् । शाखाको उद्घाटन गर्दै नगर प्रमुख शाहीले फाईनान्सले तानसेनको वित्तीय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसायिक क्षेत्रमा हुने लगानीले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा फाईनान्सका सञ्चालक तथा नेपालका सफल व्यवसायी मनिष कुमार खेम्काले सर्वसुलभ किसिमबाट हुने लगानीले यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
फाईनान्सका केन्द्रीय सञ्चालन मार्केटिङ्ग एण्ड ब्राण्डिङ्ग विभागका प्रमुख चन्द्र मल्लले २५ औ शाखा पाल्पाको तानसेनमा स्थापना भए पछि यहाँको बैंकिङ्ग सेवामा नयाँ आयाम थपिएको बताए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु मर्हजनले जिल्लाका व्यवसायीहरुलाई सहज र सुलव रुपमा सेवा प्रवाह गर्न आग्रह गरे ।
यो फाईनान्स नेपालकै सबै भन्दा धेरै क्षेत्र ओगटेको फाईनान्स कम्पनी र भारतीय मुथुट फाईनान्ससँगको संयुक्त लगानीमा सञ्चालित कम्पनी हो ।