Shittalpati
फेरि बढ्यो इन्धनको मूल्य, उपभोक्ता मारमा

पाल्पा,पछिल्लो समय नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको बढै गरेको छ । निगमले महिनादिनमै चार पल्टसम्म इन्धनको भाउ बढाएको छ । जसले गर्दा उपभोक्ता बढी मारमा परेका छन् । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरीे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १८ पुगेको छ भने डिजेल र मट्टीतेल १ सय १ पुगेको छ । निगमले हवाई इन्धनको खुद्रा मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले बढाएको छ । हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन भने यथावत् कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । यसअघि पेट्रोल प्रतिलिटर १ सय १६, डिजल र मट्टीतेल प्रतिलिटर ९९ मा बिक्री हुँदै आएको थियो । निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो । मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ । सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने छ ।
निगमले महिना दिनमै तीन÷चारपल्टसम्म इन्धनको भाउ बढाएपछि आम उपभोक्ताहरु चिन्तित बनेका छन् । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिको आधारमा मूल्य वृद्धि गर्नुपरेको जनाएको भए तापनि माघको अन्तिम सातादेखि, फागुन ४ गते, त्यसपछि फागुन १७ गते र चैत्र ३ गते मूल्य वृद्धि गरेको छ । हुन त मूल्यमा निगमको हात हुँदैन, अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि घरेलु बजारमा पनि स्वतः बढ्छ र अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि स्वतः घट्छ । तर, निगमले विगतमा पनि धेरैपल्ट अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा नघटाउने तर बढ्दा बढाउने गरेका कारण यसबाट निगमले उपभोक्तालाई सधैं मारमा पार्ने काम गरिरहेको देखिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update