रामपुर, पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण शुरु गरिएको छ । रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माणकार्य अगाडि बढाइएको हो ।
नगरपालिकाको सहयोगमा बहुवर्षीय योजनाअनुरुप करिब ५० फिट अग्लो (चार तलाको) दृश्यावलोकन स्तम्भ निर्माण गर्न १६ लाख रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताए । उनका अनुसार निर्माण सम्पन्न गर्न करिब ६० लाख लाग्ने अनुमान गरिएको छ । बेझाड बजारदेखि सवारी साधनमा करिब १० मिनेटको समयमा पुग्न माथिल्लो भेगमा रहेको बरडाँडा क्षेत्रबाट कालीगण्डकी बेँसीका धेरै ठाउँको दृश्यावलोकन गर्न सकिने छ । रामपुरमा बाह्य पर्यटक भित्र्याउनका लागि दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए । अहिले भने दृश्यावलोकन स्तम्भ निर्माणको योजना परेपछि जग्गा खरिद गर्न ग्राहक आउने क्रम विस्तारै बढ्दैछ । दृश्यावलोकन स्तम्भ निर्माणकार्यले गाउँमा विकासको लहर अगाडि बढेको अनुभूति स्थानीयवासीले गरेका छन् । दृश्यावलोकन स्तम्भ निर्माण गरिने क्षेत्रमा उद्यानलगायतका विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्ने समितिको योजना छ । समितिले अबको पाँच वर्षभित्र काम सक्ने गरी निर्माण अगाडि बढाएको जनाएको छ ।
सो क्षेत्रमा अन्य पूर्वाधार विकासका लागि स्थानीय वसन्तराम ठाडा, चेतनाथ पङ्गेनी, विष्णुबहादुर सेनले दुई/दुई आना जग्गा सहयोग गरेका छन् । –रासस