Shittalpati
‘अबको शिक्षा जीवनपयोगी र व्यवहारिक हुनुपर्छ’

रमेश विश्वकर्मा
गुल्मी, नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको शिक्षा जीवनपयोगी र व्यवहारिक हुनुपर्ने बताएका छन् । उनले कोरा किताबी ज्ञानले मात्र व्यक्ति पूर्ण हुन नसक्ने भन्दै अबको शिक्षा जीवनोपयोगी र व्यवहारिक हुनुपर्ने बताएका हुन् । जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घामा नेपाल शिक्षक संघ मुसिकोट नगर कार्य समितिको दोस्रो प्रतिनिधि सभा एवं बृहत बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले शैक्षिक योग्यता बढाएर मात्र नहुने भएकाले आर्थिक रुपमा सक्षम र सवल बन्नका लागि पनि व्यवहारिक र जीवनपयोगी शिक्षा अपरिहार्य रहेको धारणा व्यक्त गरे । उनले विद्यार्थीमा आलोचनात्मक ज्ञानको विकास गराउन जरुरी भएको बताए ।

शिक्षकले शिक्षणको क्रममा विद्यार्थीहरुमा आलोचनात्मक ज्ञानको विकास गराउन सकेमा मात्र विद्यार्थीहरुको सिर्जनशिलता बढ्ने सभापति श्रेष्ठले दाबी गरे । उनले पछिल्लो समय शिक्षण पेशामा स्थायी रुपमा प्रवेश गर्नका लागि शिक्षक सेवा आयोगबाट नाम निकाली शिक्षकहरु सामुदायिक विद्यालयमा शिक्षण पेशामा संलग्न हुने गरेको बताएका छन् । आफु सामुदायिक विद्यालयमा कार्यरत हुने र सन्तानहरुलाई नीजि विद्यालयमा पढाउने गरेको पाईएकाले त्यसो नगरी सम्पूर्ण शिक्षकहरुले आफ्ना सन्तानहरुलाई सामुदायिक विद्यालयमा पढाउर्न शिक्षकहरुलाई सभापति श्रेष्ठले आग्रह गरे । कार्यक्रममा नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुलाई सम्मान समेत गरिएको छ ।

शिक्षक सेवा आयोगले लिएको परिक्षामा नाम निकाली स्थायी रुपमा शिक्षण पेशामा लागेका शिक्षकहरुलाई सम्मान गरिएको संघका अध्यक्ष डिल्लीराज खरेलले जानकारी दिए । उनका अनुसार शिक्षण पेशाबाट अवकाश लिएका र मुसिकोट नगरपालिका भन्दा बाहिर कार्य क्षेत्र बनाएर जाने शिक्षकहरुलाई समेत सम्मान सहित बिदाई गरिएको छ । कार्यक्रममा संघका महिला उपाध्यक्ष तिलका घिमिरेले संघले अहिलेसम्म गरेका र आगामी गर्ने कार्यक्रमको बारेमा जानकारी गराएकी थिईन् । त्यस्तै अर्थ सचिव बाबुराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संघको उपाध्यक्षमा रामप्रसाद आर्चाय र अर्थ उप सचिवमा लक्ष्मी पुनलाई मनोनित गरिएको सचिव भिमसेन केसीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update