पाल्पा, कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा बढी आवेदन परेको छ । कम्पनीको फागुन २५ गतेसम्मको डाटा अनुसार ३५ प्रतिशतले आवेदन दिएका छन् । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि सामूहिक लगानी कोष कुमारी इक्वीटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याएको थियो । फण्डमा इकाइ मूल्य रु. १० अंकित दरको आठ करोड इकाईहरु निष्काशन तथा विक्री खुल्ला भएकोमा ३५ प्रतिशत बढी आवेदन परेको जनाइएको छ ।
कम्पनीले आफूहरुप्रति देखाएको विश्वसनीयता प्रति सबै लगानीकर्ताहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्टारको कार्यालय, नियमनकारी निकायहरु, लगानीकर्ता आवेदकहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूर्ण शुभेच्छुकहरु तथा सम्बन्धित सबै निकायहरुमा पनि कम्पनीले धन्यवाद ज्ञापन गरेको छ । फण्डले १५ प्रतिशत इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १ सय देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।