Shittalpati
वडास्तरीय गायन तथा नृत्य प्रतियोगिता

पाल्पा (झडेवा), जिल्लाको माथागढी गाउँपालिकाले वडास्तरीय गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाले वडा नं ८ बहादुरपुरमा नारी दिवसको अवसर पारेर ‘आर्थिक र सामाजिक रुपान्तरणमा महिलाहरुको भूमिका’ विषयक गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा गाउँपालिका भित्रका ६ समूहले भाग लिएका थिए जसमा वडा नं.–७, रहवास र वडा नं.–३ कसेनीले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै वडा नं.–२, रुप्से, द्वितीय, वडा नं.–४, झडेवा तृतीय र वडा नं.–८, बहादुरपुर, ताकातुङ्गले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा बिजेता तथा सहभागी समूहहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।

विजयी समूहलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले देश परिवर्तनमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले अहिले महिलाहरु ठूलो संघर्षपछि प्रतिनिधित्वतहमा पुगेको बताउदै न्यायपालिका कार्यपालिका र ब्यवस्थापिकामा महिलाहरुको अधिकारलाई सुनिश्चित गर्न सरकारले आरक्षणको व्यवस्था मिलाएको बताए । अध्यक्ष थापाले महिलाहरुलाई विभिन्न तहमा पुग्न सरकारले संविधानमै व्यवस्था गरेकाले महिलाहरु सक्रिय रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । लोकतन्त्रमा महिला हक अधिकारको संरक्षण गर्न हरेक स्थानमा महिलाहरु अग्रपंक्तिमा उभिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा महिला तथा बालबालिका अध्यक्ष निर्मला भट्टराईले संविधानले महिलाहरुको हक अधिकारको संरक्षण गरे पनि महिलाहरु आफ्नै कारणले पछि परेको बताईन् । महिला आफैबाट पिडित भएकाले अब आफ्नो अधिकारका लागि अगाडि बढ्न भट्टाईले महिला दिदी बहिनीहरुलाई आग्रह गरिन् । घटना र अपराध समाजबाट नै घट्ने हुदाँ सबै सचेत हुनु पर्नेमा उनले जोड दिइन् । महिलाहरु महिलाबाटै हिंसात्मक घटना तथा अन्यायमा पर्नु दुखद् भएको भन्दै उपाध्यक्ष भट्टराईले गाउँपालिकामा समेत धेरै भन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेकाले कुनै पनि हिंसात्मक घटना घट्न नदिन गाउँपालिकाले विशेष ध्यान दिने बताईन् । कार्यक्रममा निर्णायक तहका संयोजक गजेन्द्र पन्थीले नारीलाई दाईजो होइन शिक्षा दिनु पर्नेमा जोड दिदै प्रतियोगितामा प्रयोग भएका गितका शब्दहरुले नारीहरु सचेत भएको सन्देश दिएको बताए । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले परम्पराबाट नै महिलाहरुलाई सम्मान गरेको भए पनि शिक्षाको कमी र चेतनाकोस्तरमा वृद्धि नभए धारण व्यक्त गरे । महिला वडा सदस्य ललि सरा ढेंगाको स्वागत, महिला तथा बालबालिका समितिको अध्यक्ष निर्मला भट्टराईको अध्यक्षता र महिला तथा बालबालिका शाखा प्रमुख पुनम चिदीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update