पाल्पा (झडेवा), जिल्लाको माथाढी गाउँपालिकाले आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन माग गरेको गरेको छ । गाउँपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत आरन सुधार गर्नका लागि निवेदन माग गरेको हो । लुम्बिनी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ का लागि स्वीकृत भएका कार्यक्रमहरु मध्ये गाउँपालिकाले विभिन्न वडामा प्रविधि हस्तान्तरण कार्यक्रम गर्दै आएको छ ।
सोही कार्यक्रमका लागि गाउँपालिकाले गत शुक्रबार एक सूचना जारी गरी आवेदन माग गरेको छ । आरन पेशा अपनाएका व्यक्तिहरुलाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न गाउँपालिकाले आग्रह गरेको छ । निवेदकले आरन सुधारका लागि आवश्यक सामग्रीको विवरण सहित सम्बन्धित व्यक्तिको निवेदन, नागरिकताको प्रतिलिपि, माथागढी गाउँपालिकाको स्थायी वासिन्दा हुनुपर्ने, गाउँपालिका भित्र रहेर परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गर्दै आएको परिवार वा परिवारको सदस्य हुनुपर्ने प्रमुख प्रशासकिय अधिकृत राजु नेपालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।दलित समुदायको परिवारलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार उपलब्ध हुने सामग्रीको १० प्रतिशत रकम सम्बन्धित व्यक्तिले लागत साझेदारी गर्नु पर्ने छ । परम्परागत रुपमा सञ्चालन हुँदै आएका आरन व्यवसायलाई आधुनिकिकरण गर्न नसक्दा यो पेशा हराउँदै जान लागेको छ । हराउँदै जान थालेको पेशालाई आधुनिकिकरण गर्दै व्यसायिक रुपमा अगाडि बढान कै लागि गाउँपालिकाले आरन सुधार कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।


                                        
                                        
                                        
                                        
                    
                    
                    