
पाल्पा (रामपुर), नेपाल शिक्षक संघ रामपुर नगर कार्यसमिति रामपुरले शिक्षकहरुलाई सम्मान गरी दोस्रो प्रतिनिधि सभा सकेको छ । संघले शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल हुने नगर भित्रका नवनियुक्त २१ जना शिक्षकहरुलाई प्रमाण पत्र र खादाले सम्मान गरेको हो । शिक्षकहरुलाई सम्मान गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले देश निर्माणमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् । देशलाई आवश्यक जनशक्ति तयार पार्न तथा लोकतान्त्रिक आन्दोलनमा शिक्षकहरुले खेलेको भूमिकाको उनले प्रशंसा गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई, नेपाल शिक्षक महासंघका केन्द्रिय प्रतिनिधी महेन्द्रराज थापा, नेपाल शिक्षक संघ प्रदेश पाँचका प्रतिनिधी गंगा पंगेनी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल, नेपाल शिक्षक महासंघ रामपुरका अध्यक्ष टंकनाथ पोखरेल, शिक्षक तारा गौतम लगायतले शिक्षकहरुको हक अधिकारको रक्षाको लागि निरन्तर लाग्दै आएको संगठनलाई थप मजबुत बनाउँदै अघि जानुपर्ने बताएका थिए । कार्यक्रममा समितिले गरेका कार्यक्रम र भावी योजनाका विषयमा संघका अध्यक्ष लेखनाथ रेग्मीले जानकारी गराएका थिए । साथै आर्थिक प्रतिवेदन अर्थ सचिव गोविन्द भट्टराईले प्रस्तुत गरेका हुन् । संघका अध्यक्ष रेग्मीको अध्यक्षता, उपाध्यक्ष डोलराज कंडेलको स्वागत, कृष्णप्रसाद भण्डारीको धन्यवाद र सचिव डोलराज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।