कृष्ण पोखरेल
पाल्पा, प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले सिडियोको काम सवारी साधनको मेकानिक जस्तो भएको बताएका छन् । हालै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएका प्रजिअ सुवेदीले बुधबार जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै सिडियोको काम सवारी साधनको मेकानिक जस्तो रहेको भन्दै जहाँ जे आवश्यकता पर्यो सोही अनुसारको भूमिका प्रस्तुत गर्नुपर्ने बताएका हुन् । उनले पहिले आफ्नै कार्यालयको कामलाई चुस्तदुस्त बनाउने, दोस्रो जिल्लाका सरकारी कार्यालयको सेवा सुविधा चुस्तदुस्त बनाउने, तेस्रो रुपमा राजनीतिक पूर्वाग्रह बिना काम गर्ने प्रतिवद्धता जनाए ।
प्रजिअ सुवेदीले सबैपक्षसँग समन्वय गरेर काम गर्ने समेत प्रतिवद्धता जनाएका छन् । उनले जिल्लामा सुशासन कायम गर्दै नीति नियम र कानुनको परिधीमा रही सबैको समन्वयमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा पत्रकारहरुले जिल्लामा टिप्पर अनियन्त्रित रुपमा सञ्चालन भएको, अत्याधिक ओभरलोड बोक्दा समेत प्रहरी मुखदर्शक भएको, सरकारी सवारी साधनहरुको दुरुपयोग बढेको, मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक दुःख पाएको, जिल्लाका सरकारी कार्यालयहरु सूचनामैत्री नभएको, गाउँपालिकाबाट सूचना लिन कठिन भएकाले सोही अनुसारको भूमिका निर्वाह गर्न प्रजिअ सुवेदीलाई आग्रह गरेका छन् ।
जनताको पक्षमा आधारित पत्रपत्रिका तथा सञ्चारमाध्यमा प्रकाशित तथा प्रसारित समाचारको मूल्याड्ढन गर्दै काम गर्न प्रजिअ सुवेदीलाई पत्रकारहरुले आग्रह गरेका छन् । सरकारी कार्यालयहरुमा पत्रकार मैत्री व्यवहार नभएको, सबै कार्यालयमा सूचना अधिकारीले पूर्ण जिम्मेवारी नपाएकाले पत्रकारहरुले समयमा सूचना नपाएको पत्रकारहरुले गुनासो गरेका थिए ।