काठमाडौं (एजेन्सी) । एनसेल आजियाटा लिमिटेडले उद्यमी तथा व्यवसायिहरुलाई लक्षित गरी विशेष योजना ल्याएको छ । कम्पनीले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु सञ्चालनमा ल्याएको हो । कोरोना महामारीका कारण देशभरका उद्योग, व्यावसायहरु प्रभावित भएका बेला ऐनसेलले उनीहरुलाई टेवा पुग्ने खालको योजना ल्याएको छ । कम्पनीले अहिले सञ्चालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने जनाइएको छ । आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकता बमोजिम सेवा प्रवाह गर्नका लागि बिजप्लस प्लान ल्याएको एनसेलले जनाएको छ । भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यवसायीहरुलाई नव सामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडि बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान गर्दछ । नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यलयहरुलाई लक्षित गरी ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक १ सय ४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु. २ सय ९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् ।
नयाँ बिजप्लस प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउँछन् । यसका साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोवाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्न्छन् । साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको रु. १ सय ४९ वा रु. १ सय ९९ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन् । कर्पोरेट ग्राहकले रु. २ सय ९९ देखि रु १ हजार ४ सय ९९ सम्मका ६ वटा बिजप्लान मध्य कुनै पनि प्लान सुचारु गर्न सक्छन् । त्यस्तै सरकारी कार्यलयका ग्राहकले रु. १ सय ४९ देखि रु. ४ सय ९९ सम्मका ४ वटा प्लानहरु मध्य आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन् ।