गुल्मी । आगलागीबाट बाख्रा फर्ममा क्षति ब्यहोरेका गुल्मी चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहलाई नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । गत पुस २३ गते बिहीबार अज्ञात समुहले शाहले सञ्चालन गरेको फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए । आगलागीबाट फर्ममा रहेका २५ बाख्रा सहित फर्म चलेर नष्ट भएको थियो । शनिबार आगलागी पीडित शाहलाई केही भए पनि राहत पुर्याउने उद्देश्यले नेपाली काँग्रेस चन्द्रकोट गाउँपालिकाले एक लाख आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति भगतसिंह खड्काको उपस्थितीमा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्री, नेपाली काँग्रेस चन्द्रकोट गाउँपालिका सभापति भिमलाल भण्डारी लगायतले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै क्षेत्रिय सभापति खड्काले कृषिमा होमिएका शाहलाई उर्जा कम नहोस् भन्ने उद्देश्यले काँग्रेसले आर्थिक सहयोग गरेको बताए ।
अगाडि बढ्दै गरेको युवाको जोस, जागँरलाई निरुत्साहित पार्ने अपराधिक काम गर्ने जो कोही भए पनि कानुनी काठघारामा उभ्याउन सम्बनिन्धत निकायलाई आग्रह गरे । वडाध्यक्ष किरण शाहीले षडयन्त्रपूर्वक पेट्रोल छर्किएर आगलागी भएकाले सत्यतथ्य छानविन गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् । शाहको फर्ममा राजस्थानी, बोयर र जमुना पारीका उन्नत जातका बाख्रा रहेका थिए । उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी फर्ममा ७० लाखभन्दा बढी लगानी गरेका थिए । आगलागीले फर्म नष्ट गरी क्षणभरमै लाखौँको क्षति हुन पुग्दा शाह चिन्तित बनेका छन् ।