पाल्पा (एजेन्सी) । मेगा बैंक नेपाल लिमिटेडले भर्चुअल सहायता सेवा प्रारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता सेवा शुभारम्भ गरेको हो । ग्राहकले यस सेवामार्फत बैंकका सम्पूर्ण जानकारी पाउन सक्नेछन् । ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्टर सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको जनाएको छ । यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुले २४ सै घण्टा लिन सक्नेछन् । ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जर मार्फत सजिलै यो सेवा लिन सक्ने जनाइएको छ ।
वेबसाइटको दाँयातर्फ बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ । त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका विभिन्न प्रडक्टरसेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्ने छन् । आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकहरुले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्नेछन् । डबल विन्डोमा बनेको ‘मिभा’मा ग्राहकले राखेको जिज्ञासाको प्रतिक्रियाको अतिरिक्त सो जिज्ञासासँग मिल्दा अन्य जिज्ञासाहरु समेत एकसाथ उपलब्ध हुनेछन् । ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोवारको विवरण थाहा पाउन सकिने विशेषता रहेको आर्टिफिसियल इन्टेलिन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका लागि अत्याधुनिक पद्दतीवाट सञ्चालन गरिएको मेगा बैंकले जनाएको छ । मेगा बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । विक्रम सम्वत २०६७ सालमा स्थापना भएको यस बैंकले १० वर्ष पुरा गरेको छ । तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढेको यो बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ ।